तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षामन्त्री पोखरेलद्वारा चेपाङ बस्तीको आवासीय विद्यालय अनुगमन

चितवन। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका—१२ याउरालीटारस्थित श्रीगणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन गर्नुभएको  छ ।

चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासीय विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा शिक्षण–सिकाइको अवस्थाबारे उहाँले जानकारी लिनुभएको थियो ।

मन्त्री पोखरेलले शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावकसँग छलफल गर्नुभयो। छलफलका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय पहुँच, चेपाङ समुदायका बालबालिकाले भोगिरहेका शैक्षिक चुनौती तथा विद्यालयका आवश्यकताबारे जानकारी लिइएको थियो ।

उक्त छलफलमा शिक्षक, कर्मचारी र अभिभावकहरूले विद्यालयको पूर्वाधार विकास, शैक्षिक स्रोत–साधनको व्यवस्थापन तथा स्थानीय स्तरमा देखिएका समस्याका बारेमा आफ्ना सुझाव राख्नुभएको थियो ।

अनुगमनपछि मन्त्री पोखरेलले दुर्गम तथा सीमान्तकृत समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु सरकारको प्राथमिकतामा रहेको बताउनुभयो  । यस्ता विद्यालयले भोगिरहेका समस्या समाधान गर्न मन्त्रालय आवश्यक पहल गर्न प्रतिबद्ध रहेको उहाँको भनाई थियो । साथमा सोही क्षेत्रका सांसद हरि ढकाल पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button