तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारिताको विश्वसनीयता कायम राख्न सबै पक्षको सहकार्य आवश्यक : मन्त्री डा.तिमिल्सिना

सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था ‘डिजिटल मिडिया सोसाइटी’ सँग सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी नीतिगत सुधारका विषयमा छलफल गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले सञ्चार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै यस क्षेत्रका विद्यमान समस्याहरूको समाधानका लागि सरकार तयार रहेको बताउनुभयो ।

पत्रकारिता क्षेत्रलाई अझ बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सञ्चार मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट गर्नुहुँदै सञ्चार मन्त्रीले मिडिया क्षेत्रसँग सम्बन्धित सबै सरोकारवाला पक्षबाट यसमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता जगतले आफ्नो गरिमा, विश्वसनीयता र सामाजिक दायित्व कायम राख्न सक्नुपर्नेमा जोड दिनुभयो ।  

उहाँले सञ्चार क्षेत्रलाई कसरी सुदृढ र मर्यादित बनाउने भन्ने विषयमा सरकारले आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका काम अघि बढाइरहेको जानकारी दिनुभयो । गलत, भ्रामक तथा नियोजित रूपमा फैलाइने गलत सूचना, कृत्रिम बुद्धिमत्तामार्फत तयार गरिने नक्कली सामग्री (डिपफेक) तथा झुटा र सनसनीपूर्ण समाचारको प्रकाशन एवं प्रसारण बढिरहेकामा चिन्ता व्यक्त गर्नुहुँदै सञ्चार मन्त्री डा तिमिल्सिनाले सञ्चार क्षेत्रमा देखिएको यस किसिमको गम्भीर चुनौतीको समाधानका लागि सहकार्य हुन आवश्यक छ भन्नुभयो ।

उहाँले विद्यमान नीति तथा कानुनमा सुधार गरी संस्थागत व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरी सूचना तथा प्रविधिको क्षेत्रमा देखिएका चुनौतीको समाधान गरिने स्पष्ट गर्नुभयो । प्रभावकारी नभएका कानुनी व्यवस्थाको पहिचान गरी आवश्यक संशोधन तथा परिमार्जन गर्ने काम सुरु भएको बताउँदै उहाँले भन्नुभयो, “आमसञ्चार विधेयक र मिडिया काउन्सिल विधेयकको मस्यौदामाथि छलफल सुरु भइसकेको छ । सरोकार भएका सबै पक्षबाट प्राप्त हुने रायसुझावका आधारमा ती विधेयकलाई समयानुकूल र व्यावहारिक बनाइने छ । त्यस प्रक्रियामा मिडिया जगतबाट सहयोग प्राप्त हुने विश्वास लिएको छु ।”

छलफलका क्रममा डिजिटल मिडिया सोसाइटीका पदाधिकारीहरूले प्रेस काउन्सिलको भूमिका पछिल्लो समय कमजोर बन्दै गएको टिप्पणी गर्दै सञ्चार क्षेत्रको प्रभावकारी नियमन, आत्मअनुशासन र आचारसंहिताको कार्यान्वयनलाई सुदृढ बनाउन काउन्सिललाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रेस काउन्सिलको कमजोर भूमिकाका कारण पत्रकार तथा सञ्चारमाध्यमको संरक्षण, नियमन र व्यावसायिक अभ्यासमा समस्या देखिएको तथा त्यसले सञ्चार माध्यमप्रतिको सार्वजनिक विश्वाससमेत कमजोर बनाएको उहाँहरूको भनाइ थियो । 

डिजिटल मिडिया सोसाइटीले पत्रकारिता आचारसंहिताको प्रभावकारी पालना गराउनुपर्ने, सञ्चार माध्यमहरूले जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने तथा विज्ञापन बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको सुझावसमेत दिएको थियो ।

छलफलमा सञ्चार क्षेत्रको विश्वसनीयता अभिवृद्धि, डिजिटल पत्रकारिताको संस्थागत विकास, सञ्चारमाध्यमको दिगोपना तथा बदलिँदो सूचना प्रविधिसँग मेल खाने कानुनी र नीतिगत संरचना निर्माणका विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button