लुम्बिनी प्राविधिक र लखनउ विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता
बाँके। नेपालगञ्जस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालय र भारतको उत्तर प्रदेशस्थित लखनउ विश्वविद्यालयबीच उच्च शिक्षा, अनुसन्धान तथा प्राविधिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकाल र लखनउ विश्वविद्यालयका उपकुलपति प्रा. जे.पी. सैनीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
विश्वविद्यालयका अनुसार उक्त सम्झौताले नेपाल–भारतबीचको उच्च शिक्षा सहकार्यलाई सुदृढ बनाउनुका साथै दुवै विश्वविद्यालयबीच दीर्घकालीन प्राज्ञिक सम्बन्ध विस्तार गर्ने आधार तयार गरेको छ। सम्झौताअन्तर्गत विद्यार्थी तथा शिक्षक आदान–प्रदान, संयुक्त अनुसन्धान, शैक्षिक प्रकाशन, सम्मेलन, कार्यशाला र तालिम सञ्चालनलाई प्राथमिकता दिइनेछ।
उपकुलपति प्रा.डा. ढकालले सम्झौतालाई विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानको महत्वपूर्ण उपलब्धि भएको बताउँदै पाठ्यक्रम विकास, प्रयोगशाला साझेदारी, नवप्रवर्तन र स्टार्टअप इन्क्युबेसनका क्षेत्रमा समेत सहकार्य विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
लखनउ विश्वविद्यालयका उपकुलपति प्रा. सैनीले अन्तर्राष्ट्रिय शैक्षिक साझेदारी आफ्नो विश्वविद्यालयको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालसँगको सहकार्य दुवै संस्थाका लागि पारस्परिक रूपमा लाभदायी हुने बताउनुभयो।
सम्झौताअन्तर्गत इन्जिनियरिङ, कम्प्युटर विज्ञान, कृत्रिम बुद्धिमत्ता (एआई), डेटा विज्ञान, सूचना प्रविधि, साइबर सुरक्षा र डिजिटल रूपान्तरणलगायत समकालीन विषयमा संयुक्त अनुसन्धान गरिनेछ। साथै दिगो विकास, उद्यमशीलता र प्रयोगमुखी शिक्षालाई प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा. नीरज केसीले सम्झौताले शिक्षक तथा विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको अनुसन्धान, व्यावहारिक सिकाइ र नवप्रवर्तनमा सहभागी हुने अवसर प्रदान गर्ने बताउनुभयो।
परीक्षा नियन्त्रक जेन्टिल गौतमका अनुसार स्नातकदेखि विद्यावारिधि तहसम्मका विद्यार्थी र अनुसन्धानकर्ताले यस सहकार्यबाट प्रत्यक्ष लाभ लिन सक्नेछन्। संयुक्त सुपरीवेक्षण, अनुसन्धान क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय प्राज्ञिक सञ्जालीकरण र सीप विकासमार्फत दुवै विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
उहाँले भविष्यमा संयुक्त डिग्री कार्यक्रम, अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, भ्रमणकारी प्राध्यापक तथा संयुक्त प्रकाशनजस्ता कार्यक्रम सञ्चालन गर्ने आधारसमेत तयार भएको बताउनुभयो।
सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापकहरूको उपस्थिति रहेको थियो। दुवै विश्वविद्यालयका नेतृत्वले संयुक्त शैक्षिक तथा अनुसन्धान कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्