विधिको शासन कायम गर्ने महत्वपूर्ण औजार फैसला कार्यान्वयन: मुख्य रजिष्टार पौडेल
‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरूको संगालो विमोचन’
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिष्टार विमल पौडेलले विधिको शासन कायम गर्ने महत्वपूर्ण औजार फैसला कार्यान्वयन भएकाले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले प्रकाशन गरेको ‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरूको संगालो’ विमोचन गर्दै मुख्य रजिष्टार पौडेलले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै अदालतप्रतिको जनआस्था बढाउन सकिने बताउनुभयो ।
मुख्य रजिष्टार पौडेलले १ लाख २१ हजार कैद असुल गर्न बाँकी रहेको जानकारी दिनुहुँदै फैसला कार्यान्वयन न्यायपालिका एक्लैबाट सम्भव नभएकाले प्रहरी र अन्य निकायको सहयोग आवश्यक रहने स्पष्ट पार्नुभयो ।

उहाँले फैसला कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरूको संगालोले फैसला कार्यान्वयनलाई गति दिन र महत्वपूर्ण कुरामा एकरुपता कायम गर्न पुस्तक सहयोगी हुने बताउनुभयो ।
फैसला कार्यान्वयन निर्देशनालय महानिर्देशक गजेन्द्र बहादुर सिंहले फैसला निर्देशनालय अदालतभित्रको अदालत भएको भन्दै यसलाई प्रभावकारी बनाउन पुस्तक उपयोगी विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अदालतको जनआस्था फैसला कार्यान्वयनसँग जोडिएकाले पुस्तक फैसला कार्यान्वयनमा महत्वपूर्ण भूमिकामा रहने तहसिलदार, कर्मचारी र सम्बद्ध सवैका लागि उपयोगी हुने स्पष्ट पार्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्