राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौँ I राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८३ अन्तर्गत नौ वटा मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि समूहीकृत रुपमा छलफल सुरु भएको छ ।
मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि छलफलमा सहभागी सांसदहरुले पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण,लागुऔषध प्रयोग निरुत्साहन, शारीरिक तथा मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिक सुरक्षा जस्ता कार्यक्रमलाई स्पष्ट रुपमा प्राथमिकीकरण गर्नुपर्ने सुझाव राख्नुभयो ।
सांसदहरुले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वछताका कार्यक्रमहरूलाई सरकारले बेवास्ता गरेको भन्दै यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
यस्तै भूमिहीन सुकुम्वासीहरूको व्यवस्थापनका लागि बजेट पर्याप्त नछुटाइएको भन्दै सांसदहरुले वास्तविक सुकुम्वासीको संख्या एकीन गरी उचित व्यवस्थापन गर्न सरकार चुकेको बताउनुभयो ।
सांसदहरुले नीति विपरीत जनताको स्थायी आवासको व्यवस्थापन नगरी हटाइएका उपत्यकाका सुकुम्वासीको व्यवस्थापनका लागि बजेटले स्पष्ट नबोलेको पनि बताउनुभयो ।
यस्तै शिक्षा क्षेत्रलाई आर्थिक विकाससँग जोड्न व्यवसायीक, उत्पादनमुखी रोजगारमुखी शिक्षा नीति आवश्यक रहेको भन्दै आवश्यक शिक्षक दरबन्दी सृजना गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।
बैठकमा युवा श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ भएको हो ।
यसअघि सांसदहरुले पेट्रोलियम पदार्थको कृत्रिम अभावको नियमन, मनसुन अवधि सुरु भएकाले बाढिपहिरोको जोखिममा रहेका र विस्थापित भएका जनताको स्थायी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरुले सुस्ता बचाउ अभियान लिएर काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत सुस्तावासीको उचित मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने,सीमा सम्बन्धी उठेका विषयको सम्बोधन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।तीको प्रस्तावक सांसदहरुले आफ्नो धारणा राखिरहनुभएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्