राष्ट्रिय हितलाई केन्द्रमा राखेर सूचना प्रवाह गर्न सञ्चार मन्त्रीको आग्रह
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखी सूचना प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित प्रवक्ता संवाद कार्यक्रममा मन्त्री डा. तिमिल्सिनाले विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रवक्ताहरू आ–आफ्ना निकायअन्तर्गत सरकारका आधिकारिक प्रवक्ताका रूपमा महत्वपूर्ण जिम्मेवारीमा रहेको बताउनुभयो ।

मन्त्री डा. तिमिल्सिनाले सार्वजनिक हुनुपर्ने आधिकारिक सूचना भने समयमै प्रवाह हुन नसकेको बत्ताउनुहुँदै गोप्य रहनुपर्ने सूचना अनधिकृत रूपमा बाहिरिने घटना न्यूनीकरण गर्न संवेदनशील सूचनाको चुहावट रोक्न आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री डा. तिमिल्सिनाले सूचना प्रविधिको युगमा कुन सूचना कुन निकायबाट प्रवाह गर्नुपर्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताउनुहुँदै आफू कार्यरत निकायलाई हानि पुग्ने गरी सूचना सार्वजनिक गर्नु राष्ट्रहित र उत्तरदायित्व विपरीत रहेको औँल्याउनुभयो ।
कार्यक्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रभावकारी सूचना प्रवाहका लागि सबै मन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको र प्रवक्ताहरूका लागि सूचना प्रवाहसम्बन्धी स्पष्ट कार्यदिशा हुनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्