तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा आरोग्य वर्ष–२०२७ को तयारीबारे छलफल

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले २०२७ मा मनाउन लागिएको आरोग्य वर्षको कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक रहेको बताउनुभयो । 

सांसदहरूले आरोग्य वर्ष पर्यटन क्षेत्रको प्रवद्र्धनमा नयाँ कदम भएको बत्ताउनुहुँदै यसका लागि सहज बजारीकरण, लगानी आकर्षण, नीतिगत स्पष्टता तथा पर्यटन क्षेत्रका सबै सरोकारवाला निकायबीच समन्वयका आवश्यक रहेको बताउनुभयो ।

यस्तै सांसदहरूले नेपालका विभिन्न विमानस्थलहरूमा पर्यटकका लागि इन्टरनेट सेवाको पहुँच विस्तार, अध्यागमन प्रक्रियामा थप सहजीकरण तथा सिम कार्डको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले आन्तरिक विमानस्थलको सरसफाइ व्यवस्थापनलाई व्यवस्थित बनाउदै अपाङ्गमैत्री पूर्वाधार विकास गर्न पनि आवश्यक रहेको औँल्याउनुभयो ।

बैठकमा समितिका सभापति सुम्नीमा उदासले नेपालको हिमाली सौन्दर्य, जडीबुटी र प्राकृतिक सम्पदालाई आरोग्य पर्यटनको आधारका रूपमा विकास गर्दै मौलिक पहिचानको विश्वव्यापी प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

यस्तै, सरोकारवालाहरुले आरोग्य वर्ष–२०२७ को पूर्व तयारीका लागि रणनीति, मापदण्ड, आचारसंहिता र कार्य योजनाको तयारी सम्पन्न भई अन्तिम चरणमा पुगिसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button