सवारी दुर्घटनामा किशोरको मृत्यु २ घाइते
वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२ एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एक किशोरको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–२९ बस्ने १७ वर्षीय किशोर लक्की सर्राफ रहेका छन् ।
बाराको डुमरवाना–सिमरा सडकखण्डमा सोमबार साँझ स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा स्कुटर चालक सर्राफ गम्भीर घाइते भएका थिए । दुर्घटना लगत्तै उनलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा चिकित्सकले साँझ नै मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटर सराफले चलाइरहेका थिए । सोही दिशामा अगाडि गुडिरहेको प्र.२–०३–००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग स्कुटर ठोक्किएको थियो । मोटरसाइकलसँगको ठक्करपछि स्कुटर अनियन्त्रित भई सर्राफ गुडिरहेको ट्र्याक्टरको मुनि पर्दा गम्भीर घाइते भएका थिए ।
त्यसैगरी दुर्घटनामा स्कुटरको पछाडि सवार १७ वर्षीय दिलसाद देवान र अर्को मोटरसाइकल चालक बारा जितपुरसिमरा वडा नम्बर–२३ बस्ने २९ वर्षीय रैफुल आलम घाइते भएका छन् । उनीहरूको वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय सिमराले दुर्घटनामा संलग्न ट्र्याक्टर चालक जितपुरसिमरा–४ औराहा बस्ने ७० वर्षीय शिवराज चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्