तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसका सांसदहरुले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको आज बसेको बैठकले बाढी पीडितहरूका लागि प्रधानमन्त्री राहत कोषमा पार्टीका सांसदहरूको आधा महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।

संसदीय दलकाको सिंहदरबार स्थित कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो । बैठकले जनताको आवाज मुखरित हुने प्रतिनिधिसभाको बैठक तत्काल सुचारु गर्न सभामुखलाई भेटेर आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । 

उहाँले सरकारले बाढी पीडितका लागि एकद्वार प्रणाली मार्फत राहत सामाग्रीहरू वितरण गर्दा कतिपय पीडितले समयमा राहत पाउन नसकेको गुनासो आएकाले राहत वितरणमा स्थानीय तथा प्रदेश सरकारलाई सहभागी गराउन सरकारसँग आग्रह गर्ने विषयमा पनि छलफल भएको बताउनुभयो । तर, उहाँले नगद सहितका विषय एकद्वार प्रणालीबाटै हुनुपर्ने प्रावधानलाई सांसदहरुले सकारात्मक रुपमा लिएको जानकारी दिनुभयो ।

बैठकमा बाढीपछि सरकारबाट भएको हालसम्मको प्रयास, राहत, उद्धार तथा हराएकाहरूको खोजका लागि भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसहित टोलीहरूबाट भइरहेको सबै प्रकारका प्रयासबारे बैठकमा बृहत् समीक्षा भएको सचेतक निष्कल राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button