नेपाली काँग्रेस रास्वपाको दुस्मन होइन : सभापति थापा

चितवन । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रास्वपाको दुस्मन नभएको बताउनुभएको छ ।
चितवनमा रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना दिनुहुँदै सभापति थापाले रास्वपाको उचाई देखेर आफूलाई लोभ लागेको बताउनुभयो ।
“नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुस्मन होइन । हामी स्वच्छ प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौँ”, सभापति थापाले भन्नुभयो , “तपाईँहरूको उचाई देखेर लोभ लागेको छ । तर तपाईँहरूलाई सानो बनाएर होइन ।”
सभापति थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्व बीचको टकराबका कारण कमजोर बन्ने गरेको समेत बताउनुभयो ।
उहाँले विगतमा नेपालका विभिन्न राजनीतिक दलहरूले ठूलो जनमत प्राप्त गरे पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा जनमत दुर्घटनामा परेको बताउनुभयो । उहाँले भन्नुभयो , “करिब तीन, चार पटक नेपालका राजनीतिक दलहरूले ठूलो जनमत प्राप्त गरे । तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो । जुन राजनीतिक दलले त्यो जनमत प्राप्त गर्यो त्यो राजनीतिक दलको नेताहरूको अंहकारका बीचमा टकराब भयो, व्यक्तिहरूको बीचमा टकराब भयो । जसको कारणले दुर्घटना भयो ।”
उहाँले जनमत प्राप्त गरेपछि दलभित्र नेतृत्वको अहङ्कार, व्यक्तिवादी प्रवृत्ति र आन्तरिक टकराब बढ्दा राजनीतिक दलहरू कमजोर बनेको उल्लेख गर्नुभयो ।
राजनीतिक दलभित्र स्वस्थ आलोचना र आत्मसमीक्षाको संस्कृतिको आवश्यकता औँल्याउँदै आफ्नै पार्टीका नेताहरूलाई पनि प्रश्न गर्नसक्ने साहस हुनुपर्ने बताउनुभयो ।
“गल्ती गरेको बेला आफ्ना नेताहरूलाई पनि प्रश्न गर्नुहोला । हामीले ढिला गर्यौँ, सजाय पनि पायौँ ।”, उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसले आफ्ना कमजोरीहरू समयमै स्वीकार गर्न नसकेको भन्नुहुँदै उहाँले त्यसबाट अन्य दलहरूले शिक्षा लिनुपर्ने बताउनुभयो । गल्ती हुँदा आफ्नै नेतृत्वलाई प्रश्न गर्न सक्ने संस्कृतिले मात्रै राजनीतिक दललाई लोकतान्त्रिक र उत्तरदायी बनाउन सक्ने उहाँको भनाइ थियो ।
सभापति थापाले रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई पनि नेतृत्वप्रति अन्ध समर्थन नगरी आवश्यक पर्दा प्रश्न उठाउन र आलोचनात्मक चेत कायम राख्न आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्