तपाईँ सुन्दै हुनुहुन्छः

‘होल्डिङ सेन्टरमा बालबालिका लागि सरकारको पहल सकारात्मक’

काठमाडौँ । विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका लागि सरकारको पहल सकारात्मक रहेको बालबालिकासम्बन्धी संस्थाहरूको सञ्जालको स्थलगत अध्ययनले देखाएको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को संयोजनमा काठमाडौँको कीर्तिपुर, नागार्जुन तथा भक्तपुर र काभ्रेको बनेपामा रहेका होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी अभिभावक र बालबालिकाको अवस्थाको अध्ययन गरिएको हो । त्यहाँका बालबालिकालगायत सम्बद्ध पक्षको छलफलबाट सेन्टरमा आधारभूत सुविधाहरू उपलब्ध भएको र थप सुविधाका लागि तीनै तहका सरकार गम्भीर हुनुपर्ने अध्ययन प्रतिवेदनले जनाएको छ ।

ती सेन्टरमा बालबालिकालाई बस्नका लागि टेन्ट र म्याटको व्यवस्था, सामूहिक खाजा र पानीको व्यवस्था भएको, प्राथमिक स्वास्थ्य परीक्षण तथा औषधि व्यवस्थापनका लागि स्थानीय स्वास्थ्य संस्था तथा अस्पतालसँग समन्वय गरिएको देखिएको छ । तर औषधिको र रोग विशेषणको पोषणयुक्त खानाको अभाव रहेको पाइएको छ ।

केही बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गराई यातायात, झोला, किताब तथा कपडाको व्यवस्था गरिएको र एक दुई जना महिलाको परिवारलाई रोजगारीको व्यवस्था गरिएको अध्ययनले देखिएको छ । एक क्षेत्रमा केही मनोरञ्जनात्मक क्रियाकलापलाई समेत बढाइएको तर औषत १५–१८ वर्ष उमेरका बालबालिकामा गर्मीले यस्तो गतिविधिमा असर परेको छ । ती सेन्टरमा प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्मका १०४ बालबालिका रहेको सो संस्थाले जनाएको छ ।

“सरकारको सहयोग र समन्वयकारी भूमिका रहेको छ । स्थानीय प्रशासन, प्रहरी निकाय, सङ्घसंस्था प्रभावकारी संस्थाबीचमा समन्वय देखिन्छ,” सिजपको प्रतिवेदनमा भनिएको छ, “तीन तहका सरकारबीच प्रभावकारी समन्वय, सहकार्य र समग्र रूपमा बहुपक्षीय कार्य योजना बनाएर काम गर्नुपर्ने देखिएको छ ।”

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले वास्तविक भूमिहीन तथा सुकुम्वासी परिवारको पहिचान गरी योग्यताका आधारमा स्थायी वैकल्पिक आवास र रोजगारी तथा बालबालिकाको विद्यालय भर्ना र शिक्षा निरन्तरताको व्यवस्था अविलम्ब गर्नुपर्ने पाइएको बताउनुभयो । उहाँले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, नेपालको संविधान र बालअधिकारसम्बन्धी ऐन, २०७५ को व्यवस्था र मान्यताका आधारमा बालबालिकाको अधिकार रक्षार्थ आफूहरूले सङ्कलन गरेको अवस्था र सुधारका विषयलाई सम्बन्धित मन्त्रालय र निकायमा पठाइएको जानकारी दिनुभयो ।

बालबालिका, गर्भवती तथा सुत्केरी, बौद्धिक तथा शारीरिक अपाङ्गता, अशक्त भएका व्यक्तिहरूका निम्ति सुरक्षित आवास, पोषणयुक्त खाना, सरसफाइ सामग्री, स्वास्थ्य, सुरक्षा, मनोसामाजिक सहयोगलगायत आधारभूत आवश्यकता पूरा गर्न पनि भनिएको छ ।   

होल्डिङ सेन्टरमा रहेका छ वर्षमुनिका बालबालिकाको सर्वाङ्गीण विकास र सर्वोत्तम हितका लागि पोषण, खेल, मनोरञ्जन, सुरक्षित वातावरण एवं विशेष आवश्यकतामा ध्यान दिन, सम्भावित यौन दुर्व्यवहार, बालविवाह, बालश्रम शोषण, बेचबिखन तथा ओसारपसारलगायत जोखिमका बारेमा सचेत र सजग भई बालबालिकाको सुरक्षा र संरक्षण सुनिश्चित गर्न पनि प्रतिवेदनले सुझाव दिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button