तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय योजना आयोगद्वारा बजेट कार्यान्वयनबारे छलफल

'साउन १ गतेदेखि नै बजेट लागू गर्न अर्थमन्त्रीको निर्देशन'

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयनका सन्दर्भमा सरोकारवाला निकायहरूसँग छलफल कार्यक्रम आयोजना गरेको छ।

छलफल कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सुशासन, आर्थिक विकास र उत्पादनशीलतामा प्रोत्साहन गर्ने गरी सरकारले ल्याएको बजेट ऐतिहासिक भएको बताउनुभयो । 

अर्थमन्त्री वाग्लेले अहिलेको सरकारले कागजी प्रक्रियाभन्दा पनि तोकिएको काम शतप्रतिशत समयमै सम्पन्न गर्न चाहेको भन्दै अहिलेको जनशक्तिले काम सम्पन्न गर्न नसक्ने हो भने युवाशक्तिलाई इन्टर्नसिपमा लगाउन पनि सरकार तयार रहेको बताउनुभयो । 

यस अवसरमा अर्थमन्त्री वाग्लेले जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेट साउन १ गतेबाटै  कार्यान्वयन सुरु गर्न विभिन्न मन्त्रालयका सचिवहरूलाई निर्देशन पनि  दिनुभयो । 

छलफलमा आयोगका उपाध्यक्ष डा. गुणकार भट्टले बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयहरुबीच समन्वयन  बढाउनुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी आयोगका सचिव रविलाल पन्थले नवयुवाहरूको आन्दोलनको मर्म र महत्वकाङ्क्षालाई सम्बोधन गरी आएको बजेटले नयाँ पुस्तामा आशा पलाएको   बताउनुभयो । 

त्यस्तै युवा,श्रम तथा रोजगार मन्त्रालयका सचिव दिपक काफ्लेले श्रम र रोजगार क्षेत्रसँग जोडिएको मन्त्रालयबाट युवा जनशक्तिले धेरै अपेक्षा राखेकाले सोही अनुसार बजेट कार्यान्वयन गर्न जोड दिइने बताउनुभयो । 

छलफलमा विभिन्न मन्त्रालयका सचिवहरूले बजेट कार्यान्वयन गरी पुँजीगत खर्च बढाउने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button