दिगो विद्युत् आपूर्तिलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन: मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री बिराजभक्त श्रेष्ठले दिगो विद्युत् आपूर्तिको मेरुदण्डका रुपमा रहेको प्रसारण लाइन र सवस्टेशनहरुलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो ।
उर्जामन्त्री श्रेष्ठले मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै यस वर्ष विद्युत् उत्पादन, व्यापार, पूर्वाधार र औद्योगीकरणलाई एकीकृत रुपमा अघि बढाउन विगतको तुलनामा पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो ।
यस्तै उर्जामन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक महत्वका प्रसारणलाई निर्माण गर्ने लक्ष्यसहित मन्त्रालयले कार्ययोजना तयारी गरी काम अघि बढिसकेको जानकारी गराउनुभयो ।
ऊर्जा क्षेत्रको रुपान्तरणका लागि सरकार प्रस्थान विन्दुमा रहेको भन्नुहुँदै मन्त्री श्रेष्ठले बजेट छर्ने प्रवृत्तिलाई हटाई लामो समयदेखि अलपत्र परेका आयोजनालाई प्राथमिकता दिइएको पनि बताउनुभयो ।
मन्त्री श्रेष्ठले आन्तरिक तथा अन्तरदेशिय प्रसारणलाई र वितरण लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले जलवायु परिवर्तनको कारण सिचाई र कृषि क्षेत्रमा चुनौती थपिँदै गएको समेत उल्लेख गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्