बहुवर्षिय सडक सुरक्षा कार्ययोजनालाई प्राथमिकता दिई बजेट विनियोजन : मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बहुबर्षिय सडक सुरक्षा कार्ययोजना सहित सडक सुरक्षालाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको बताउनुभयो ।
प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सडक दुर्घटना र नागरिक सुरक्षालाई ध्यानमा राखी आगामी दिनमा निर्माण हुने सडक सञ्जालहरूमा अन्डर ग्राउन्ड पास,ओभर पास र फ्लाई ओभर पास अनिवार्य गरिने बताउनुभयो ।
मन्त्री लम्सालले सडक सुरक्षाका दृष्टिकोणले धेरै दुर्घटना हुने जिल्लासँग जोडिएका सबै एकल लेनका सडकहरूलाई आगामी तीन वर्षभित्र दुई लेनको बनाउने योजना रहेको पनि बताउनुभयो ।
मन्त्री लम्सालले कृषि,बन, पर्यटन, औद्योगिक क्षेत्र केन्द्रित रहेर आवश्यकता अनुसार रणनीतिक सडक निर्माणका लागि समेत सरकारले कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।
यस्तै काठमाडौँ उपत्यकालाई धुलोरहित बनाउन उपत्यकाका सबै सडक सञ्जाललाई तीन वर्षे योजना अनुरुप कालोपत्रे गर्ने योजना रहेको मन्त्री लम्सालले बताउनुभयो ।
मन्त्री लम्साले आगामी तीन वर्ष भित्र ६५ प्रतिशत जनसङ्ख्यालाई शुद्ध खानेपानी पुर्याइने योजना तथा कार्यक्रम अनुरूपका काम अघि बढाइएको पनि बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्