विभेद न्युनिकरण मन्त्रालयको उच्च प्राथमिकतामा : मन्त्री वादी
काठमाडौँ । महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादीले समावेशी, सुरक्षित र मर्यादित समाज निर्माण गर्न महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदायको संरक्षण, सशक्तीकरण र सामाजिक सुरक्षालाई केन्द्रमा राखी आगामी आवको कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो ।

मन्त्री वादीले विनियोजन विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अपाङ्गता भएको व्यक्तिहरूको अवसर र सेवामा पहुँच सुनिश्चित गर्न महिला, किशोरी तथा बालबालिकामाथि हुने हिंसा विभेद न्युनिकरण गर्ने कार्यलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
मन्त्री वादी लैङ्गिक समानता तथा हिंसामुक्त समाज निर्माणलाई प्राथमिकिकरण गर्दै महिलाको आर्थिक सशक्तीकरणका लागि सीप विकास,उद्यमशीलता प्रविधि सहयोग र स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
यस्तै मन्त्री वादीले पुरुष सहभागितामा आधारित सामाजिक रूपान्तरण कार्यक्रम, लैङ्गिक हिंसा पीडित महिला तथा प्रभावितका लागि आपतकालीन कोष, मनोपरामर्श तथा निःशुल्क कानुन सहायता, सुरक्षित गृह स्थापना तथा सञ्चालन गर्ने गरी बजेट तथा कार्यक्रम तर्जुमा भएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्