‘विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन सङ्घीयता सुदृढीकरणमा कोसेढुङ्गा’
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाका विशेषाधिकार समितिहरूबिचको समन्वय, अनुभव आदानप्रदान र साझा सिकाइले संघीय लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ ।

लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा दाङको राप्ती उपत्यकास्थित लुम्बिनी सभाहलमा सुरु भएको बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको राष्ट्रिय सम्मेलनको मङ्गलवार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यो सम्मेलन सङ्घीयता मजबुत बनाउने कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशहरू स्वायत्त र सक्षम रहेको उल्लेख गर्दै उहाँले अन्तरसंवाद र अनुभव आदानप्रदानबाट रहेका कमी कमजोरीहरू हटाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले सङ्घीयतामाथि विभिन्न कोणबाट चुनौती र षड्यन्त्र हुने गरेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थाको संस्थागत सुदृढीकरणका लागि प्रदेश सभाहरूको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशले भौतिक पूर्वाधार निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा थप प्रभावकारी परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय तथा अन्य प्रदेश गौरवका आयोजनाहरू सफलतापूर्वक अघि बढिरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारका मन्त्रालयको संख्या १२ बाट ८ मा झारेर प्रशासनिक खर्च नियन्त्रण र कार्यसम्पादनमा सुधार ल्याउने गरी कामहरू अघि बढेको पनि उहाँले जानकारी दिनुभयो ।
विशेषाधिकार समिति लुम्बिनी प्रदेश सभाका सभापति गिरधारीलाल न्यौपानेले प्रस्तुत गर्नुभएको अवधारणा पत्रमा प्रदेश सभाको गरिमा, स्वतन्त्रता, प्रभावकारिता र उत्तरदायित्वलाई सुदृढ बनाउन विशेषाधिकार समितिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको थियो । समितिहरूबिच संस्थागत समन्वय अभिवृद्धि गर्ने, संसदीय विशेषाधिकार सम्बन्धी अभ्यासको समीक्षा गर्ने, साझा मापदण्ड विकास गर्ने तथा अन्तरसंसदीय सहकार्य विस्तार गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिइयो ।
सो अवसरमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सङ्घीयता सफल बनाउन प्रदेश संरचनालाई थप बलियो बनाउनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसी, संविधान सभा सदस्य खिमलाल देवकोटा, बागमती प्रदेश विशेषाधिकार समितिकी सभापति मायादेवी शर्मा तथा सुदूरपश्चिम प्रदेश विशेषाधिकार समितिका सभापति तुलसी देवकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विशेषाधिकार समितिका सदस्य अम्बिका काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका सदस्य निमा गिरीले गर्नुभएको थियो । सम्मेलनमा तीनै प्रदेशका विशेषाधिकार समितिका सभापति, सदस्य, प्रदेश सभा पदाधिकारी, विज्ञ तथा कर्मचारीहरूको सहभागिता रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्