तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय अवरोधले उत्पन्न चिया संकट: इलामका ५३ उद्योग बन्द, झापाका ३० उद्योग बन्द हुने

झापा I भारतले विभिन्न बहाना बनाएर निर्यातमा अवरोध सिर्जना गरेपछि नेपालको झापा र इलाममा सञ्चालित चिया उद्योगहरू बन्द हुन थालेका छन् ।

इलामका ५३ वटा चिया उद्योग हिजोदेखि नै बन्द भएका छन् भने झापाका ३० वटा उद्योग पनि भोलि बुधबारदेखि बन्द हुने बुझिएको छ ।

भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ । यसअनुसार प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ ।

यो निर्णयले नेपाली चियाको निकासीलाई भारतले द’दुरुत्साहन गरेको सूर्योदय अर्थोडक्स टी प्रोडुसर्स एसोसिएसन नेपालले जनाएको छ । भारतले लगाएको नयाँ नियमलाई  पालना गर्दा नेपाली चिया निर्यात गर्नै नसकिने जनाउँदै एसोसिएसनले असार १ गतेदेखि इलामका चिया उद्योग बन्द गर्ने निर्णय गरेको थियो । एसोसिएसनका महासचिव गोपाल कट्टेलले यो संकट विगतका प्राविधिक अवरोधहरूभन्दा निकै फरक र गम्भीर प्रकृतिको भएको बताउनुभयो । पहिले भन्सार विन्दुमा केही दिन गाडी रोकिने गरे पनि अहिले बजार र गोदाममा पुगिसकेको चिया समेत बिक्री गर्न नपाउने र नष्ट गर्नेसम्मको कडा कानुन बनाइएकाले उद्योगीहरू व्यवसायबाटै पलायन हुने स्थिति आएको उहाँको भनाइ छ ।

यसैगरी, झापामा मुख्यतया सीटीसी (दानादार) चिया तयार गर्ने नेपाल चिया उत्पादक सङ्घले पनि असार ४ गतेदेखि झापाका साना–ठूला गरी ३० चिया उद्योग तथा दर्जनभन्दा बढी चिया बगान अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार, भारतले आफ्नो गैर भन्सार अवरोध नहटाएसम्म उद्योग र बगानको ताला खुल्ने छैन ।

उद्योग ठप्प हुँदा लाखौँ किलो चिया गोदाममै
भारतीय बजारमा पुगिसकेको करिब दुई लाख किलोभन्दा बढी तयारी अर्थोडक्स चिया अहिले भारतीय गोदामहरूमा बिना कुनै निकास रोकिराखिएको छ । अर्कातर्फ, निर्यात रोकिएपछि नेपालका उद्योगहरूमा पनि लाखौँ केजी तयारी चिया थन्किएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताउनु भएको छ । 

चिया उद्योगहरूले उत्पादन बन्द गर्नासाथ यसको प्रत्यक्ष र सबैभन्दा ठूलो मार ग्रामीण क्षेत्रका साना किसान र चिया श्रमिकहरूमा परेको छ । यस क्षेत्रमा प्रत्यक्ष रूपमा आबद्ध ५० हजार किसान र लाखौँ श्रमिकहरूको रोजीरोटी अहिले खोसिने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button