‘सुरक्षित र मर्यादित श्रम बजारको निर्माण गर्ने दिशामा बजेट केन्द्रित छ’
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यवस्थित, सुरक्षित र मर्यादित श्रम बजारको निर्माण गर्ने दिशामा बजेट केन्द्रित रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा. वाग्लेले बजेटको मूल उद्देश्य आर्थिक तथा राजनीतिक सुशासन, कृषिको आधुनिकीकरण, रोजगारी विस्तार, डिजिटल अर्थतन्त्रको विकास र आर्थिक सशक्तिकरण रहेको बताउनुभयो ।
आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डा. वाग्लेले सहायता लिने मानसिकता हटाई गरिबी न्यूनीकरणको आधार स्थायी आम्दानी र रोजगारी सिर्जना भएको मान्यताले बजेट आएको बताउनुभयो ।
अर्थमन्त्री डा. वाग्लेले निजी क्षेत्रलाई उत्पादनशील लगानी गर्न प्रोत्साहन तथा सडक, डिजिटल क्षेत्र र हवाई क्षेत्रमा कनेक्टिभिटीको विकास गरि अर्थतन्त्रलाई औपचारिकतातर्फ अघि बढाइएको औँल्याउनुभयो ।
अर्थमन्त्री डा. वाग्लेले सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राखी यस बजेटमा हरेक प्रदेशमा स्वास्थ्य क्षेत्र र पूर्वाधार विकास तथा वातावरण संरक्षणलाई अग्रता दिइएको जानकारी दिनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक असार ५ गते शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्