परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने हुनुभएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा उहाँ यही जेठ ३१ देखि असार ३ गते (जुन १४ देखि १७, २०२६) सम्म चीनको भ्रमणमा जान लाग्नुभएको हो।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग दुईपक्षीय भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सो अवसरमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हित र सहयोगका क्षेत्रलाई अझ गहिरो गरी अगाडि बढाउने विषयमा गहन छलफल हुनेछ। चीन बसाइका क्रममा उहाँले त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणकै सिलसिलामा मन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुनुहुनेछ। नेपालमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिने उक्त सम्मेलनमा उहाँले चिनियाँ व्यवसायीहरूसँग विशेष अन्तरक्रिया समेत गर्नुहुनेछ। यसका साथै, बेइजिङस्थित नेपाली दूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई मन्त्री खनालले त्यहाँ रहेका नेपाली समुदायसँग समेत साक्षात्कार गर्नुहुने कार्यक्रम तय भएको छ।
परराष्ट्रमन्त्री खनाल असार ३ गते (जुन १७) स्वदेश फर्कनुहुने मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।








प्रतिक्रिया राख्नुहोस्