लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन, इभीको भन्सार जाँचपास प्रक्रियाबारे कर प्रणालीको पारदर्शिता, नीतिगत स्थिरता र भन्सार व्यवस्थापन सुधारको विषय प्रमुख रूपमा उठेको छ
समिति सदस्यहरूले ती इभीको भन्सार जाँचपास र करका दर परिवर्तनदेखि भन्सार मूल्याङ्कन प्रक्रियासम्मका विषय पुनरवलोकन आवश्यक भएकामा जोड दिनुभयो । उहाँहरूले भन्सार व्यवस्थापन तथा सुधारका निम्ति विविध सुझाव प्रस्तुत गर्नुभयो । सांसद आरेन राईले विद्युतीय सवारी साधनमा भएका करसम्बन्धी व्यवस्थाबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताउनुभयो ।

सांसद बुद्ध रत्न महर्जनले जनतामाथि करको भार मात्र थोपरेर मुलुकको समृद्धि सम्भव नहुने विचार व्यक्त गर्नुभयो ।
यसैगरी, सांसद महेन्द्रबहादुर शाहीले व्यवसायमा पारदर्शिता महत्वपूर्ण हुने भएकाले भन्सार पूर्वाधार सुधारलगायत विषयमा ध्यान दिन सुझाउनुभयो ।
सांसद यज्ञबहादुर बोगटीले भन्सार कार्यालयलाई सुविधा सम्पन्न बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो भने अर्का सदस्य गणेशसिंह ठगुन्नाले विद्युतीय सवारी साधनलाई कर छुट दिइएको विषयमा संसदीय छानबिन आवश्यक छ भन्नुभयो ।
सांसद रुकेश रञ्जितले कर नीति व्यवसायमैत्री हुनुपर्ने बताउनुभयोे ।
सांसद विक्रम थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
सांसद गोविन्द पन्थीले भन्सार छली नियन्त्रणका लागि नियमित अनुगमन र बलियो संरचना आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सांसद मनिष झाले आयात–निर्यात हुने वस्तुहरूको जाँच, कर निर्धारण तथा महसुल असुली व्यवस्थित हुनुपर्नेमा जोड दिनुभयो ।
रासस







प्रतिक्रिया राख्नुहोस्