तपाईँ सुन्दै हुनुहुन्छः

स्वस्थ जीवनशैली र सामाजिक एकताको सन्देश बोकेर जेठ ३० गते ‘गाईघाट रन’ हुने

 उदयपुर । स्वस्थ जीवनशैली र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले उदयपुरको सदरमुकाम गाईघाटमा “गाईघाट रन“ आयोजना हुने भएको छ। “Run Together, Grow Healthier”  भन्ने नारासहित सामूहिक रन कार्यक्रम आयोजना हुन लागेको स्थानीय युवा जितेन्द्र रोइलाले जानकारी दिनुभयो ।

यही जेठ ३० गते बिहान ६ बजे जिल्ला सदरमुकाम गाईघाट स्थित  गाईचोकबाट सुरु हुने उक्त कार्यक्रम स्वास्थ्य प्रेमी युवाहरूको सक्रियतामा सञ्चालन हुन लागेको हो ।

कार्यक्रमको रुट म्याप अनुसार गाईचोकबाट सुरु भएको दौड आँखा अस्पताल, जिल्ला अस्पताल, पिपलटार ब्यारेक, जिल्ला प्रशासन, बोक्से चोक, करमगाछी, बक्सा पुल, रत्न रिसोर्ट, शिवालय ढिस्की मन्दिर, इजार चोक, संगमटोल र पिपल चोक हुँदै पुनः गाईचोकमै पुगेर समापन हुनेछ ।

आयोजकका अनुसार यो कुनै औपचारिक प्रतियोगिता नभई सर्वसाधारण सहभागी हुन सक्ने “मर्निङ वाक सरहको रन” कार्यक्रम हो । कार्यक्रममा कुनै दर्ता शुल्क नलाग्ने बताइएको छ भने सहभागीहरूको नाम भने सङ्कलन गरिने स्थानीय आयोजक युवाको भनाई छ ।

स्थानीय युवाहरूको सक्रियतामा आयोजना हुने लागेको “गाईघाट रन“ हाललाई कुनै प्रकारको प्रायोजन, व्यावसायिक सहकार्य वा उपहार स्वीकार नगरिएको जनाइएको छ । आयोजकहरूले गाईघाट क्षेत्रमा स्वस्थ जीवनशैली, नियमित व्यायाम र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

आयोजकले गाईघाट रनमा सहभागी हुन चाहने सबैलाई कार्यक्रम सहभागिताका लागि आग्रह समेत गरेका छन् ।

स्थानीय युवाहरूको पहलमा हुन लागेको “गाईघाट रन” ले स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै समुदायलाई एकताबद्ध बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button