तपाईँ सुन्दै हुनुहुन्छः

खेर जाने सालका पात बन्यो आयआर्जनको आधार 

बाँके । वातावरण संरक्षण, स्थानीय रोजगारी सिर्जना र सामुदायिक वनमा आश्रित परिवारको आर्थिक सशक्तीकरणलाई एकैसाथ जोड्ने उदाहरणका रूपमा बाँकेको कोहलपुरमा सञ्चालित दुना–टपरी उद्योग स्थापित हुँदै गएको छ। सामुदायिक वनबाट सङ्कलन गरिने सालका पातलाई उपयोग गरेर उत्पादन गरिने दुना–टपरीले एकातिर स्थानीयलाई आम्दानीको अवसर दिएको छ भने अर्कोतर्फ प्लास्टिकजन्य सामग्रीको विकल्पका रूपमा वातावरणमैत्री अभ्यासलाई समेत प्रोत्साहन गरेको छ।

कोहलपुर नगरपालिका–२ स्थित जन एकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह ले कोहलपुरमा पहिलो पटक सालको पातबाट दुना–टपरी उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको हो। सामुदायिक वनबाट सङ्कलन गरिएका सालका पात प्रयोग गरी तयार पारिने दुना–टपरीले अहिले स्थानीय बजारमा राम्रो माग पाउन थालेको छ।

पहिले जङ्गलमा खेर जाने सालका पात अहिले स्थानीय उपभोक्ताका लागि आयआर्जनको महत्वपूर्ण स्रोत बनेका छन्। विशेष गरी सामुदायिक वनमा आश्रित एकल महिला, दलित तथा विपन्न परिवारहरू पात सङ्कलन, सुकाउने तथा दुना–टपरी निर्माण कार्यमा संलग्न भएर नियमित आम्दानी गर्न थालेका छन्।

जन एकता मध्यवर्ती वन उपभोक्ता समितिकी अध्यक्ष पुण्य प्रभा मल्ल ले सामुदायिक वनका उपभोक्तालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले उद्योग सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार वनबाट प्राप्त हुने स्रोतको दिगो उपयोग गर्दै स्थानीयको जीवनस्तर उकास्ने प्रयास स्वरूप यो अभियान अघि बढाइएको हो।

प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोगले वातावरणमा नकारात्मक असर परिरहेका बेला सालको पातबाट बनेका दुना–टपरी वातावरणमैत्री विकल्पका रूपमा लोकप्रिय बन्दै गएका छन्। 

जन एकता मध्यवर्ती वन उपभोक्ता समितिका कोषाध्यक्ष बलबहादुर बुढाले दुना–टपरी उद्योगबाट समूहका सदस्यहरूको वैकल्पिक आम्दानीको स्रोत विस्तार हुँदै गएको बताउनुभयो । 

समितिकी सदस्य जया थापा का अनुसार पहिले खेर जाने सालका पातबाट अहिले उपयोगी सामग्री उत्पादन भइरहेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button