तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप शुक्रबारदेखि पोखरामा हुने 

पोखरा । गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ भोलि (शुक्रबार) देखि पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुने भएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगितामा प्रदेशका चार जिल्लाका उत्कृष्ट विद्यालय टोलीबिच प्रतिस्पर्धा हुने भएको सङ्घले जनाएको छ । 

शुक्रबार बिहान ९ः०० बजे उद्घाटन खेलमा कास्कीको डायमण्ड बोडिङ स्कुल र पर्वतको मंगोलदय मावि बिच प्रतिस्पर्धा हुने भएको संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनु भयो । शुक्रबार दिउसो १ः०० बजे पछि स्याङ्जाको भगवती सेकेण्डरी स्कुल र नवलपुरको भिमशेन आर्दश स्कुल बिच प्रतिस्पर्धा हुने भएको उहाँले जनाउनु भयो । 

कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाबाट विद्यालयस्तरीय छनोट प्रतियोगिताका विजेता विद्यालयहरूले मात्र सहभागिता जनाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । विद्यालयस्तरमा क्रिकेटको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा राष्ट्रिय प्रतियोगिताका लागि सक्षम टोली निर्माण गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजन गर्न लागिएको सिग्देलले जनाउनु भयो ।

यस वर्षको प्रतियोगितामा सहभागी विद्यालयका खेलाडीका अतिरिक्त प्रत्येक जिल्लाबाट छनोट गरिएका चार उत्कृष्ट खेलाडीलाई समेत टोलीमा समावेश गर्ने विशेष व्यवस्था गरिएको छ । यसले जिल्लाभित्र रहेका प्रतिभावान् क्रिकेटरलाई प्रदेशस्तरीय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको लिग चरणका खेलहरू यही जेठ २२, २३ र २४ गते सञ्चालन हुनेछन् भने उपाधिका लागि फाइनल खेल यही जेठ २५ गते हुनेछ । दैनिक दुई खेल हुनेछन् । 

प्रतियोगिताको विजेता टोलीले आगामी असारको पहिलो सातादेखि काठमाडौँमा आयोजना हुने राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछ । साथै, यस प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट चार खेलाडीले पनि विजेता विद्यालयको टोलीबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन् ।

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन सक्नेछन् । साथै, जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भई यस वर्षको एसइई परीक्षा उत्तीर्ण गरिसकेका खेलाडीलाई समेत खेल्न अनुमति दिइएको आयोजकले जनाएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट संघका अनुसार विद्यालय तहबाटै क्रिकेटको बलियो आधार निर्माण गर्दै ग्रामीण तथा ग्रासरुट स्तरका प्रतिभाको खोजी, विकास र प्रोत्साहनका लागि प्रतियोगिता महत्वपूर्ण माध्यम बन्ने विश्वास गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button