तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा दैनिक तापक्रम बढ्दै जाँदा जनजीवन प्रभावित

बाँके । बाँकेसहित पश्चिम तराईका जिल्लाहरूमा दैनिक तापक्रम बढ्दै जाँदा जनजीवन प्रभावित हुन थालेको छ। केही दिनअघि परेको वर्षाले गर्मीबाट क्षणिक राहत दिएको भएपनि पछिल्ला दिनमा पुनः तापक्रम उकालो लाग्न थालेपछि सर्वसाधारणलाई दैनिक कामकाज गर्न कठिन हुन थालेको छ।

हावापानी फिल्ड कार्यालय राँझाका अनुसार बुधबार नेपालगञ्जको अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस मापन गरिएको छ। यसअघि वर्षा नहुँदा नेपालगञ्जको तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। मौसमविद्हरूका अनुसार आगामी दिनमा पनि गर्मीको प्रभाव कायम रहने सम्भावना रहेको छ।

तापक्रम निरन्तर बढ्दै जाँदा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने र ‘लु’ (हीट स्ट्रोक) को जोखिम बढ्ने चिकित्सकहरूले बताएका छन् । चर्को गर्मीका कारण अत्यधिक थकान, कमजोरी, धेरै तिर्खा लाग्ने, वान्ता हुने, चक्कर लाग्ने तथा बेहोस हुनेजस्ता समस्या देखिन सक्ने चिकित्सकहरूको भनाइ छ।

भेरी अस्पताल नेपालगञ्जका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा.सङ्केत रिसालले गर्मीको समयमा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ। 

उहाँका अनुसार ‘लु’ बाट जोगिन सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्ने, अनावश्यक रूपमा घाममा हिँडडुल नगर्ने तथा हलुका र शरीर ढाक्ने कपडा लगाउने बानी बसाल्नुपर्छ। घरबाहिर निस्कँदा टाउको टोपी, छाता वा कपडाले राम्रोसँग छोप्नुपर्ने र पर्याप्त मात्रामा पानी तथा झोल पदार्थ सेवन गर्नुपर्ने उहाँको सुझाव छ। “अत्यावश्यक कामका लागि बाहिर निस्किनुपरे शरीर पूरै ढाक्ने कटनका कपडा लगाउनुपर्छ र टाउकोलाई विशेष रूपमा सुरक्षित राख्नुपर्छ,” डा. रिसालले भन्नुभयो।

बढ्दो गर्मीको असर विशेषगरी दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरूमा बढी परेको छ। चर्को घामका कारण नेपालगञ्जलगायत सहरी क्षेत्रका सडक र बजारमा दिउँसोको समयमा चहलपहल समेत घटेको देखिन्छ। स्थानीयवासीहरूले मध्याह्नको समयमा घर बाहिर निस्केर काम गर्न निकै कठिन भइरहेको बताएका छन्।

चिकित्सकहरूका अनुसार गर्मी मौसममा शरीरमा पानीको कमी हुँदा डिहाइड्रेसन, एलर्जी तथा अन्य स्वास्थ्य समस्या बढ्न सक्छन्। शरीरमा पर्याप्त पानी नहुँदा विषाक्त पदार्थहरू सहज रूपमा बाहिर निस्कन नसक्ने र यसले विभिन्न स्वास्थ्य जटिलता निम्त्याउन सक्ने डा.रिसालले बताउनुभयो।

उहाँले तिर्खा नलागे पनि नियमित रूपमा प्रशस्त पानी पिउन सुझाव दिँदै पानीको सट्टा बियर, कफी, सोडा तथा अन्य क्याफिनयुक्त पेय पदार्थको अत्यधिक सेवन नगर्न आग्रह गर्नुभएको छ। यस्ता पेय पदार्थले शरीरमा पानीको मात्रा झन् घटाउन सक्ने भएकाले गर्मीको समयमा स्वच्छ पानी, झोलिलो खानेकुरा र पोषिलो आहारमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

बढ्दो तापक्रमसँगै स्वास्थ्य जोखिम पनि बढ्दै गएकाले सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन र सर्वसाधारणलाई सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बाहिरी वातावरणमा काम गर्ने व्यक्तिहरूले गर्मीबाट बच्ने उपाय अपनाउनु आवश्यक रहेको चिकित्सकहरूको सुझाव छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button