तपाईँ सुन्दै हुनुहुन्छः

अत्याधिक गर्मीका कारण बारा, पर्सामा सर्पदंशको घटना बढे

सर्पदंशको कारण  बाराको बेल्दारीमा नाबालकको मृत्यु

बीरगंज । अत्याधिक गर्मीसँगै बारा, पर्सामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । 

सर्पले डस्दा बाराको पचरौता नगरपालिका वडा नम्बर ४ बेल्दारीमा एक जना १९ महिने नाबालकको मृत्यु भएको छ ।

बुधबार साँझ पचरौता नगरपालिका वडा नम्बर ४ बेल्दारी बस्ने एक जना महिलाले मकै खेतमा ज्यालादारी काम गर्न १९ महिनाको छोरालाई लिएर गएकोमा उक्त मकै बारीमा खेल्ने क्रममा बालकलाई खुट्टामा सर्पले डसेको थियो ।

घाइते बालकलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमा नै मृत्यु भएको अस्पतालले जनाएको छ । 

पछिल्लो २४ घण्टामा सर्पले डसेर बारा,पर्सा जिल्लाका ९ जना घाइते भएका छन् ।

गर्मी बढिरहेकाले जमिनको सतहमुनि लुकेर बसेका बिषालु सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको नारायणी अस्पताल वीरगन्जका आकस्मिक सेवा कक्षका प्रमुख डा.दिलीप चौरसियाले बताउनुभयो ।

नारायणी अस्पतालमा गर्मीयाम सुरु भएयता सर्पले टोकेर उपचार गर्न आउने बिरामीको संख्या बढिरहेको डा.चौरसियाले बताउनुभयो । उहाँले हरेक दिन सर्पदंशका बिरामी अस्पताल आउने गरेको बताउनुभयो ।

जेठ महिनामा मात्र नारायणी अस्पतालमा २७ महिलासहित ५६ सर्पदंशका बिरामी उपचारमा आएको डा.चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button