टीकापुरमा पहिलो पटक अन्तर व्यवस्थापिका सम्मेलन हुने

धनगढी । कैलालीको टीकापुरमा पहिलो पटक अन्तर व्यवस्थापिका सम्मेलन हुने भएको छ ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारीले अन्तर व्यवस्थापिका सम्मेलनबारे जानकारी दिनुभयो ।
उहाँले सम्मेलनमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सात वटै प्रदेशका सभामुख, उपसभामुख, संघीय संसद् र प्रदेश सभा सचिवालयका अधिकारीको सहभागिता रहने बताउनुभयो ।
उहाँले सम्मेलनको जेठ २३ गते उद्घाटन र २४ गते घोषणापत्र जारी गरेर सम्मेलन समापन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
अन्तर व्यवस्थापिका मञ्चको आयोजना तथा सुदूरपश्चिम प्रदेशसभाको व्यवस्थापनमा टिकापुरमा हुन लागेको सम्मेलनमा कानुन निर्माण, कार्यान्वयनको अवस्था, सभा सञ्चालन, संसद्का अनुभव लगायतका विषयमा छलफल तथा संघीय संसद् र प्रदेशसभाका अनुभवहरू आदानप्रदान गरिने कार्यक्रम तय गरिएको सभामुख भण्डारीले जानकारी दिनुभयो ।
सम्मेलनको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, उच्च पदस्थ अधिकारी लगायतको सहभागिता रहने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्