नारायणी अस्पतालमा बिरामीको चाप बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण

बीरगंज । वीरगन्जको नारायणी अस्पतालमा पछिल्लो समय थेगी नसक्ने गरी बिरामीको चाप बढेसँगै व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।
विगतदेखि नै सीमित भौतिक पूर्वाधार, दक्ष जनशक्ति र स्रोतसाधनका बीच स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका अन्य निजी अस्पतालका बिरामीको सख्या ह्वात्तै बढेपछि व्यवस्थापन थप चुनौतीपूर्ण बनेको हो ।
नेपाल सरकारले सर्वसाधारणलाई सुलभ र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
तर सरकारले जेठ १६ गतेदेखि आपत्कालीन अवस्था बाहेक निजी स्वास्थ्य संस्थामार्फत बीमा अन्तर्गतको उपचार सेवा स्थगित गरेपछि बीमा गरेका बिरामीहरू पुनः सरकारी अस्पतालतर्फ केन्द्रित हुन थालेका छन् । यस अघि सरकारले वीरगंजस्थित नेशनल मेडिकल कलेज र वीरगंज हेल्थकेयर अस्पताललाई समेत बीमा कार्यक्रम अन्तर्गतका सेवा प्रदान गर्ने अनुमति दिएको थियो । तर हाल ती अस्पतालहरूबाट सरकारले बीमाका बिरामीको उपचार बन्द गरेपछि स्वास्थ्य बीमाका बिरामीहरू नारायणी अस्पतालबाट मात्र सेवा लिन बाध्य भएका छन् ।
नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले बीमा सेवाका बिरामी बढेसँगै दैनिक उपचारका लागि आउने सेवाग्राहीको सख्या उल्लेखनीय रूपमा वृद्धि भएको बताउनुभयो । “पहिलेदेखि नै अस्पतालमा बिरामीको चाप उच्च थियो । अहिले बीमा सेवाका बिरामी थपिएपछि व्यवस्थापनमा थप दबाब परेको छ,” उहाँले भन्नुभयो ।
बिरामी र उनीहरूका आफन्तका अनुसार अहिले अस्पतालमा उपचार सेवा प्राप्त भए पनि आवश्यक औषधि सहजरूपमा उपलब्ध हुन सकेको छैन ।
अस्पतालभित्र सञ्चालनमा रहेको फार्मेसी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा अधिकांश बिरामी बाहिरबाट महँगो मूल्यमा औषधि खरीद गर्न बाध्य भएका छन् । यस्तै, अस्पतालका विभिन्न वार्डमा बिरामीको अत्यधिक चापका कारण शय्या अभावको समस्या पनि गम्भीर बन्दै गएको छ । उपचाररत बिरामीका कुरुवाहरूका अनुसार एउटा शय्या खाली हुनासाथ भर्ना हुन प्रतीक्षारत धेरै बिरामीले पालो कुर्नुपर्ने अवस्था सृजना भएको छ ।








प्रतिक्रिया राख्नुहोस्