परम्परागत स्वादको व्यावसायिक रूपान्तरण: ठेकी महीबाट सफलता खोज्दै

बाँके । परम्परागत नेपाली स्वादलाई आधुनिक बजारसँग जोड्दै कोहलपुर नगरपालिका–१० का सन्तोष पौडेलले ‘ठेकी स्वादको मही’ लाई व्यावसायिक ब्रान्डका रूपमा स्थापित गर्नुभएको छ ।
पुरानो शैलीमा तयार गरिने महीलाई नयाँ पुस्तासम्म पुर्याउने उनको प्रयासले स्थानीय उत्पादन र मौलिक खानपान संस्कृतिको संरक्षणमा समेत योगदान पुर्याइरहेको छ ।
कोहलपुरस्थित ‘ए–वान डेरी उद्योग’ मार्फत पौडेलले काठको ठेकी र मदानी प्रयोग गरी परम्परागत विधिबाट मही उत्पादन गर्दै आएका छन्। बजारमा मेसिनबाट बनेका मही सहजै उपलब्ध भए पनि आगोमा पकाइएको दूध र ठेकीमा मथिएको महीको स्वाद फरक हुने भएकाले उपभोक्ताको आकर्षण बढ्दै गएको पौडेलले बताउनुभयो ।
दुग्धजन्य पदार्थको व्यवसायमा करिब एक दशकदेखि सक्रिय पौडेलले सुरुवात सामान्य डेरी व्यवसायबाट गर्नुभएको थियो । पछिल्ला वर्षहरूमा भने उहाँले ठेकी मही उत्पादनलाई प्राथमिकता दिनुभएको हो । हाल उद्योगबाट दैनिक करिब ४०० लिटर ठेकी मही उत्पादन भइरहेको छ भने थप १५० लिटर खुला मही बिक्री हुने गरेको छ। पाँच सय मिली लिटरको बोतलमा प्याक गरिएको मही स्थानीय बजारमा पुग्ने गरेको छ।
ठेकी मही तयार गर्ने प्रक्रिया भने निकै मेहनतपूर्ण छ। दाउराको चुलोमा दूध तताइन्छ, त्यसपछि क्रिम अलग गरी पुनः उमालिन्छ । निश्चित तापक्रममा चिस्याएर दहीको जोडन हालिन्छ र हिटिङ रुममा राखिन्छ । दही जमिसकेपछि ठेकीमा राखेर मदानीले मथिन्छ। यही प्रक्रियाबाट तयार हुने महीमा आगोको स्वाद र काठको प्राकृतिक सुगन्ध मिसिने भएकाले यसको स्वाद विशेष हुने पौडेलको भनाइ छ।
स्वाद मात्र नभई स्वास्थ्यका दृष्टिले पनि मही लाभदायक मानिन्छ। पाचन प्रणाली सुधार गर्ने, शरीरलाई चिस्यान दिने, एसिडिटी कम गर्ने, थकान हटाउने, क्याल्सियम उपलब्ध गराउने तथा रक्तचाप नियन्त्रणमा सहयोग पुग्ने विश्वासले यसको माग बढ्दै गएको पौडेल बताउनुहुन्छ ।
पौडेलको उद्योगमा परिवारका सदस्यसहित चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उद्योग सञ्चालनका लागि उनले लुम्बिनी प्रदेश सरकार र कोहलपुर नगरपालिकाबाट केही मेसिनरी सामग्री सहयोग स्वरूप प्राप्त गर्नुभएको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा उपलब्ध अटोले मही बजारसम्म पुर्याउन सहज भएको उहाँले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्