सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै
काठमाडौँ। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नबिनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्नुहुने भएको छ ।

नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा हुने भेटवार्तामा छिमेकी दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल केन्द्रित हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
सभापति लामिछाने भाजपाका अध्यक्ष नबिनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार भारत प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा उहाँले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्नुहुनेछ ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा, र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले अध्यक्ष लामिछानेको उच्चस्तरीय भेटघाट तथा कार्यक्रमलाई सहज बनाउन निकट समन्वय गरिरहेको जनाएको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्