मुलुक र जनताप्रति उत्तरदायी भएर अघि बढ्नुपर्छ : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कानुन कार्यान्वयनका सन्दर्भमा मुलुक र जनताप्रति उत्तरदायी भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । आज धनगढीमा मुख्य न्यायाधिवक्ताहरुको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले संविधान, ऐन कानुनको आ(आफ्नै ढङ्गले व्याख्या गर्ने प्रवृत्तिले कानुन कार्यान्वयनमा जटिलता देखिएको बताउनुभयो ।

मुख्यमन्त्री शाहले कानुन तथा अधिकार प्रत्यायोजन गर्ने सवालमा विलम्ब गर्न नहुनेमा जोड दिँदै स्थानीय, प्रदेश, सङ्घको साझा र एकल अधिकारबारे जनतालाई बुझाउन जरुरी बताउनुभयो ।
सम्मेलनमा नेपाल सरकारका मुख्यन्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले मुख्यन्यायाधिवक्ताको कार्यालयलाई अधिकार सम्पन्न बनाउन कानुनी रिक्तता देखिए त्यसको सम्बोधनका लागी महान्यायाधिवक्ताको कार्यालयले पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले राज्यको वर्तमान संरचनालाई बलियो, प्रभावकारी, सुदृढ बनाउदै डेलिभरि दिनुपर्ने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश मुख्यन्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित राष्ट्रिय सम्मेलनमा सातै प्रदेशका मुख्यन्यायाधिवक्ता, सरकारी अधिवक्ता लगायतको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा संविधान संशोधन, कानुनी शासनको सबलीकरण लगायतका विषयमा छलफल हुने सुदूरपश्चिम प्रदेशका मुख्यन्यायाधिवक्ता ठेकेन्द्र जोशीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्