तपाईँ सुन्दै हुनुहुन्छः

३ दिनभित्र फिर्के खोलामाथिका संरचना हटाउन पोखरा महानगरपालिकाको अल्टिमेटम

कास्की । पोखरा महानगरपालिकाले फिर्के खोला आसपास निर्माण भएका संरचना आगामी शुक्रवारसम्म हटाउन अल्टिमेटम दिएको छ । महानगरले यस अगाडी २०८० कात्तिक १० गते ३५ दिनभित्र अतिक्रमित संरचना हटाउन सूचना जारी गरेको थियो । तर, अदालती मामिलाका कारण सूचना कार्यान्वयन हुन सकेको थिएन ।

बुधबार फेरि  महानगरपालिकाले अर्को सूचना जारी गरेर खोलाघरका संरचना हटाउनु भन्दै सूचना जारी गरेको छ । स्थायी तथा अस्थायी संरचना यही जेठ ९ गतेभित्र व्यक्ति संस्था स्वयंले हटाउनुपर्ने उल्लेख गरी सूचनामा भनिएको छ ।

महानगरपालिकाका अनुसार, वडा १८ को अँधेरी कुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नं. ६ गाईघाट पुगी फेवातालमा मिसिने फिर्के खोलका संरचना हटाउनुपर्ने मेयर धनराज आचार्यले बताउनुभयो । त्यसरी खोला घरमा निमार्ण भएका संरचना नहटाएको खण्डमा आफैँले हटाउने र त्यसको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल्ने चेतावनी समेत महानगरले दिएको छ ।

महानगरद्वारा गठित अध्ययन समितिको प्रतिवेदनअनुसार फिर्के खोलाको खोलाघरभित्र १६० वटा अस्थायी, स्थायी तथा व्यक्तिगत र संस्थागत संरचना खडा गरिएका छन् ।

प्रतिवेदनअनुसार, ४० मिटरसम्ममा बहने फिर्के खोला अतिक्रमण गरी तीन मिटर ३० सेन्टिमिटरसम्म खुम्च्याएको भेटिएको हो । सीमाङ्कन टोलीले फिर्के खोला किनारमा ३८८ वटा कङ्क्रिटका पिल्लर समेत गाडेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button