झापामा तीन छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
भद्रपुर, झापा। झापाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा परी तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुईवटा घटनामा आपसी विवादका कारण महिलाको हत्या भएको छ भने एउटा घटनामा निर्माणाधीन संरचनाबाट लडेर एक मजदुरको ज्यान गएको छ।
मदिरा सेवनपछिको विवाद: धकेल्दा महिलाको मृत्यु
जेठ २ गते राति अर्जुनधारा नगरपालिका–८ कुशलचोकस्थित एम्स सेकेन्डरी बोर्डिङ स्कुल नजिकै खुला चौरमा मदिरा सेवनका क्रममा भएको सामान्य विवादले उग्र रूप लिँदा एक महिलाको मृत्यु भएको छ।
अर्जुनधारा–५ कञ्जनबारी निवासी २४ वर्षीय किरण गौतमले सामान्य विवादका क्रममा अर्जुनधारा–८ बस्ने २९ वर्षीया काजल सुवेदी बस्नेतलाई धकेलेका थिए। धकेल्ने क्रममा सुवेदी चौरको बीचमा सिमानाका लागि बनाइएको कङ्क्रिटको प्लम्बमा ठोक्किएर गम्भीर घाइते भएकी थिइन्। उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा छन्। इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अभियुक्त गौतमलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ।
यसैगरी, झापाको हल्दिबारी गाउँपालिकामा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
हल्दिबारी गाउँपालिका वडा नं ५ स्थित धनुषपोखरी नजिकै गएराति सामान्य विवादका कारण गोकर्ण भनिने गणेश भण्डारीले आफ्नी ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गरी हत्या गरेका हुन् । उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार भण्डारी दम्पतीबीच विगत लामो समयदेखि झगडा हुँदै आएको थियो । राति करिब ९ बजे गोकर्ण मादक पदार्थ सेवन गरेर घर फर्किएपछि दुवैबीच भनाभन भएको थियो । सोही क्रममा विवाद बढ्दै जाँदा आवेशमा आएर उनले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ ।
श्रीमतीको हत्या गरिसकेपछि गोकर्णले छिमेकीको घरमा पुगेर आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेका थिए । घटनाबारे बताए लगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरी भण्डारीलाई नियन्त्रणमा लिइएको थियो ।
यसैगरी, मेचीनगर नगरपालिका ५ शान्ति टोलस्थित निर्माणाधीन खानेपानी ट्यांकीबाट लडेर एकजनाको मृत्यु भएको छ ।
हिजो अपराह्न सो निर्माणाधीन खानेपानी ट्याङ्कीमा काम गर्दै आएका मेचीनगर ५ बस्ने ५२ वर्षीय दिनानाथ पराजुली उक्त ट्याङ्कीको सेटरिङको बाँस खोल्ने क्रममा ३ तला माथिबाट अचानक लडेका थिए । घाइतेलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्