उदयपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
उदयपुर । उदयपुर जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । खोप सेवाबाट छुटेका बालबालिकासम्म पहुँच विस्तार गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
कोशी प्रदेशका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बुले मङ्गलवार सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभयो । उहाँले खोपले शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता विकास गर्ने भएकाले भविष्यमा हुन सक्ने घातक सङ्क्रामक रोगबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने समेत उल्लेख गर्नुभयो ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लामा १६ महिनामुनिका ५ हजार १ सय २७ जना बालबालिकाले नियमित खोप सेवा लिइरहेको बताउनुभयो । त्यस्तै १६ देखि ५९ महिनासम्मका १५ हजार ५१ जना बालबालिकालाई समेत खोप सेवा प्रदान गरिएको बताउनुभयो ।
जिल्लामा खोप नै नलगाएका २ जना बालबालिका र विभिन्न कारणले छुटेका १ सय ३२ जना बालबालिकालाई समेत खोजी गरेर खोपको पहुँचमा ल्याइएको प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
नेपाल सरकारले बालबालिका तथा वयस्कका लागि विभिन्न प्रकारका खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । स्वास्थ्यकर्मीका अनुसार नियमित खोप अभियान प्रभावकारी बन्दै जाँदा जिल्लामा बाल स्वास्थ्य सुरक्षामा सकारात्मक सुधार देखिन थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्