तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरका पत्रकारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत

उदयपुर । उदयपुरका पत्रकार तथा पत्रकारका परिवारलाई लक्षित गर्दै स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ र गाईघाटस्थित विशेषज्ञ पोलिक्लिनिक प्रा. लि. बीच सहकार्य सम्झौता भएको छ । मङ्गलवार पोलिक्लिनिकमा आयोजित कार्यक्रममा दुवै पक्षबीच औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौताअनुसार महासङ्घमा आबद्ध पत्रकार तथा सक्रिय पत्रकारका परिवारलाई बहिरङ्ग विभाग (OPD) सेवा निःशुल्क उपलब्ध गराइने भएको छ । साथै LAB, X-Ray, VIDEO X-Ray, ECG र Echo लगायतका स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट सुविधा प्रदान गरिनेछ । औषधिमा समेत अधिकतम खुद्रा मूल्य (MRP) मा १० प्रतिशत छुटको व्यवस्था गरिएको पत्रकार महासङ्घका अध्यक्ष भक्तिविलास पोखरेलले जानकारी दिनुभयो ।

सम्झौतामा पत्रकारका श्रीमान्÷श्रीमती, छोरा–छोरी तथा बुवा–आमालाई समेत सहुलियतको दायरामा समेटिएको छ । सेवा लिन पत्रकारले आफ्नो परिचयपत्र तथा परिवारका सदस्यले पत्रकारसँग सम्बन्ध खुल्ने कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, पोलिक्लिनिकले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने स्वास्थ्य शिविर तथा सामुदायिक कार्यक्रमको प्रचार–प्रसारमा महासङ्घले सहकार्य गर्ने समझदारी भएको डा. विवेक प्रभात साहले बताउनुभयो ।

सम्झौतापत्रमा विशेषज्ञ पोलिक्लिनिक प्रा. लि.का अध्यक्ष डा. साह र नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाका अध्यक्ष पोखरेलले हस्ताक्षर गर्नुभएको थियो । महासङ्घका सचिव तुलसी प्रसाद कोइरालाले रोवरमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता २०८३ जेठ ५ गतेदेखि लागू भई २०८३ चैत मसान्तसम्म कायम रहने जनाइएको छ । दुवै पक्षको सहमतिमा आगामी दिनमा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था समेत गरिएको डा. साहको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button