तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरको सौन्दर्यीकरण अभियान: अमरसिंह क्षेत्रमा अव्यवस्थित टहरा हटाइयो

कास्की ।पोखरा महानगरपालिका वडा न-१२ अमरसिंह माध्यमिक विद्यालयको खेलमैदान अगाडिको पृथ्वी राजमार्गसँग जोडिएको क्षेत्रमा सञ्चालनमा रहेका व्यावसायिक सटरहरू हटाइएका छन्।

शहरी सौन्दर्यीकरण अभियानअन्तर्गत महानगरपालिका, विद्यालय र व्यवसायीबीचको समन्वयपछि ५१ वटा सटर हटाइएका हुन्।

मङ्गलवार महानगरपालिकाका अनुसार टिनका टहरा बनाई लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले जेठ ४ गतेसम्मको समयसीमा पाई आफ्ना सामान सुरक्षित रूपमा स्थानान्तरण गरेपछि संरचना खाली गरिएको हो। त्यसपछि महानगरपालिकाले जेसिबी प्रयोग गरी बाँकी संरचना हटाएको छ।

विद्यालयसँगको समन्वयमा व्यवसायीहरू आफैँले सटर हटाउन सहमति जनाएपछि अभियान सहज रूपमा सम्पन्न भएको महानगरपालिकाले जनाएको छ। उक्त स्थानमा रहेका ५१ वटा व्यावसायिक सटर व्यवसायीहरूको सहमतिमै हटाइएको हो।

पोखराको मुख्य प्रवेश मार्गका रूपमा रहेको अमरसिंह क्षेत्र ती टहराहरूका कारण अव्यवस्थित र अस्वाभाविक देखिँदै आएको भन्दै महानगरपालिकाले शहरी सौन्दर्यीकरणलाई प्राथमिकतामा राखेर संरचना हटाइएको जनाएको छ।

महानगर प्रमुख धनराज आचार्यले लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले अभियानलाई सहयोग गरेको भन्दै आभार व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button