‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ । ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा पुस्तासम्म पुर्याउन सकिएमा ती अनुभवका माध्यमबाट मुलुकमा समृद्धि प्राप्त गर्न सकिने बताइएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय काठमाडौँ र कोसी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न अन्तर पुस्ता सीप हस्तान्तरण’सम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा सहभागीले ज्येष्ठ नागरिकका अनुभव अमूल्य सम्पदाका रूपमा सदाका लागि जीवित हुने बताउनुभयो ।
ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनका अनुभव, सङ्घर्ष र सफलताबाट युवालाई कृषि, हस्तकला, व्यापार तथा सामाजिक क्षेत्रमा सफलता प्राप्त हुने विचार व्यक्त गर्नुभयो ।
प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले ज्येष्ठ नागरिक र युवापुस्ताबीच समुदाधुर सम्बन्धमा विकास गर्न तथा उनीहरूको सीप ज्ञानलाई उपयोग गरि मुलुकको समृद्धि ल्याउनका राज्यलाई आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले युवाहरूमा संस्कार, अनुशासित र परिश्रमिक बनाउन ज्येष्ठ नागरिकका अनुभव र सीप हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी उपसचिव निर्मला कार्कीले ज्येष्ठ नागरिक अमूल्य खानी भएकाले उनीहरुलाई सधैँ सम्मान गर्न युवापुस्तालाई आग्रह गर्नुभयो ।
ज्येष्ठ नागरिक महासङ्घ प्रदेशका अध्यक्ष मणि अर्याल, सामाजिक विकास मन्त्रालयकी सहायक सचिव दुर्गा बराललगायतले ज्येष्ठ नागरिकको सीप र ज्ञानलाई औपचारिक शिक्षा प्रणालीसँग जोड्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक महासङ्घका प्रतिनिधि, विभिन्न सङ्घसंस्थामा आबद्ध ज्येष्ठ नागरिक, विभिन्न विद्यालयका विद्यार्थी, सङ्घीय मन्त्रालय र प्रदेश मन्त्रालयका प्रतिनिधि, विराटनगर महानगरपालिकालगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्