इन्धन महँगीले निर्माणाधीन घुर्मी–चतरा सुनकोशी कोरिडोर सडक निर्माण कार्य पुनः प्रभावित

उदयपुर । इन्धनको लगातार बढ्दो मूल्यले निर्माणाधीन घुर्मी–चतरा सुनकोशी कोरिडोर सडकको निर्माण कार्य पुनः प्रभावित बन्न थालेको छ ।
निर्माण सामग्री तथा डिजेलको लागत अस्वाभाविक रूपमा बढेपछि निर्माण व्यवसायीहरूले मूल्य समायोजनको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूर्वी नेपालको पहाडी र तराई भूभागलाई जोड्ने रणनीतिक महत्वको घुर्मी–चतरा सुनकोशी कोरिडोर सडकको ट्याक खोल्ने तथा स्तरोन्नति गर्ने काम अहिले उदयपुरको घुर्मी–कुमालटार क्षेत्रमा भइरहेको छ । तर, इन्धन मूल्यवृद्धिका कारण निर्माण कम्पनीहरू आर्थिक दबाबमा परेका छन् ।
सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुङ्गाका साइड इन्चार्ज इन्जिनियर सतीशकुमार साहका अनुसार निर्माण कम्पनीहरूले डिजेल र अन्य सामग्रीको लागत अत्यधिक बढेको भन्दै मूल्य समायोजनका लागि निवेदन दिएका छन् । उहाँका अनुसार कार्यालयमार्फत उक्त माग सडक विभागमा पठाइसकिएको छ ।
“चालु आर्थिक वर्षमा संघीय सरकारले १० करोड रुपैयाँ विनियोजन गरेर काम अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “तर मूल्यवृद्धिको असरले निर्माणको गति प्रभावित हुनसक्ने अवस्था देखिएको छ ।”

हाल घुर्मी–भालुखोला र भालुखोला–आम्बोटे गरी दुई प्याकेजमा सडक निर्माणको काम भइरहेको छ । घुर्मी–भालुखोला खण्डको सात किलोमिटर सडक निर्माणको जिम्मा अजय लामा जेभी, सिराहाले ४ करोड २२ लाख रुपैयाँमा लिएको छ भने भालुखोला–आम्बोटे खण्डको सात किलोमिटर सडक ट्र्याक खोल्ने तथा चौडा बनाउने जिम्मा डिसिडिआर जेभी, उदयपुरले २ करोड ८३ लाख रुपैयाँमा पाएको छ ।
डिसिडिआर जेभीका प्रतिनिधि जीवन कार्कीले ठेक्का सम्झौता हुँदा प्रतिलिटर १३६ रुपैयाँ रहेको डिजेल अहिले २ सय ३५ रुपैयाँ पुगेको बताउनुभयो । “लागत अनुमानभन्दा धेरै खर्च बढिसकेको छ”, उहाँले भन्नुभयो, “सरकारले स्पष्ट नीति नलिए समयमै योजना सम्पन्न गर्न कठिन हुन सक्छ ।”
घुर्मी–चतरा सुनकोशी कोरिडोर सडक उदयपुरको सुनकोशी नदी किनार हुँदै कटारी नगरपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका हुँदै बेलका नगरपालिकाको चतराघाटसम्म पुग्नेछ ।
स्थानीय तहका जनप्रतिनिधिले सडक निर्माणलाई उत्तरी उदयपुरको विकाससँग जोडेर हेरेका छन् । ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माले घुर्मी–कुमालटार खण्ड सम्पन्न भए स्थानीयको यातायात पहुँचमा ठूलो सुधार आउने बताउनुभयो ।
“यो सडक सञ्चालनमा आएपछि काठमाडौँ तथा विराटनगरसम्मको यात्रा छोटो र सहज हुन्छ”, उहाँले भन्नुभयो, “ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुको पश्चिम क्षेत्रलाई समेत लाभ पुग्नेछ ।”
२०६७ सालदेखि सुरु भएको सुनकोशी कोरिडोर सडक आयोजना पटक–पटक अवरोध र विवादका कारण प्रभावित हुँदै आएको छ । अहिले फेरि इन्धन मूल्यवृद्धिले निर्माण कार्य प्रभावित बन्ने चिन्ता स्थानीयवासी र सरोकारवालामा बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्