इलाममा ‘केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिज्म मिट–२०८३’ हुने
इलाम । पूर्वी नेपालको दिगो पर्यटन विकास, वातावरण संरक्षण तथा स्थानीय सांस्कृतिक र प्राकृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यसहित “केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिज्म मिट–२०८३” आगामी जेठ २३ र २४ गते इलाममा आयोजना हुने भएको छ।

सोमबार इलाम नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको आधिकारिक लोगो सार्वजनिक गरिएको हो। कार्यक्रममा नगर पर्यटन प्रवर्द्धन समितिका सचिव अर्जुन पोखरेलले कार्यक्रमबारे विस्तृत जानकारी दिनुभएको थियो । उहाँका अनुसार यो कार्यक्रम केवल पर्यटन प्रवर्द्धनको औपचारिक कार्यक्रम मात्र नभई दिगो विकास, जिम्मेवार पर्यटन अभ्यास र स्थानीय समुदायको प्रत्यक्ष सहभागितालाई केन्द्रमा राखेर सञ्चालन गरिने महत्वपूर्ण पहल हो।
कार्यक्रम गौतम बुद्द सभागृहमा हुनेछ । यसमार्फत नेपालको सबैभन्दा होचो स्थान केचना देखि विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासम्म फैलिएको भौगोलिक, जैविक तथा सांस्कृतिक विविधतालाई एकीकृत रूपमा प्रवर्द्धन गर्दै पूर्वी नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार “जिम्मेवार पर्यटन” अवधारणालाई प्राथमिकतामा राख्दै वातावरणीय संरक्षण, फोहोर व्यवस्थापन, स्थानीय संस्कृति संरक्षण तथा समुदायमा आधारित पर्यटन विकासलाई सुदृढ बनाइनेछ। साथै पर्यटन क्षेत्रलाई दिगो आर्थिक अवसरका रूपमा विकास गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्य पनि लिइएको छ।
कार्यक्रमकी संयोजक सुशीला सापकोटाले दिगो पर्यटन विकास र स्थानीय पहिचानलाई विश्वसामु स्थापित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले “केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिज्म मिट” पूर्वी नेपालको पर्यटनलाई जिम्मेवार, व्यवस्थित र दिगो बनाउने साझा अभियान भएको उल्लेख गर्नुभयो।
नगर पर्यटन प्रवर्द्धन समितिका सचिव अर्जुन पोखरेलका अनुसार कार्यक्रमले पर्यटन सरोकारवालाबिच संवाद, सहकार्य तथा नवप्रवर्तनका अवसर सिर्जना गर्ने वातावरण तयार गर्नेछ।
कार्यक्रम इलाम नगरपालिकाअन्तर्गतको नगर पर्यटन प्रवर्द्धन समितिले आयोजना गर्न लागेको हो भने होटल व्यवसायी संघ इलामले प्रवर्द्धन गर्नेछ। सह–आयोजकका रूपमा इलाम उद्योग वाणिज्य संघ, गाइड पोर्टर ड्राइभर क्लब तथा पर्यटन प्रवर्द्धन संस्कार समितिको सहभागिता रहनेछ। आर्थिक सहयोग इलाम नगरपालिका र पर्यटन कार्यालय काँकडभिट्टाले गर्ने जनाइएको छ ।
दुई दिने कार्यक्रममा नेटवर्किङ र्याली, प्रस्तुतीकरण, सांस्कृतिक झाँकी, प्यानल छलफल, पर्यटकीय गन्तव्यहरूको भ्रमण, पुरस्कार सम्मान, फोटो तथा भिडियो प्रदर्शनी, स्थानीय परिकार प्रदर्शनी तथा हस्तकलाका सामग्रीको बिक्री–प्रदर्शनी लगायतका गतिविधि सञ्चालन गरिनेछन्।
नेपाल र भारतबाट जनप्रतिनिधि, पर्यटन व्यवसायी, वातावरणविद्, सरकारी प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रमको अन्त्यमा “जिम्मेवार पर्यटन इलाम घोषणापत्र–२०८३” जारी गरिने बताइएको छ।








प्रतिक्रिया राख्नुहोस्