तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारीको विचार र स्वाभिमानको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ: पूर्वराष्ट्रपति भण्डारी

File Photo

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक तथा ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रणेता मदन भण्डारी र आश्रितको योगदानको स्मरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

शनिबार (जेठ ३ गते) एक वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको सिँढी चढाउन अभूतपूर्व योगदान गरेको उल्लेख गर्नुभएको छ।

“जननेता मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद (जबज)’ले लोकतान्त्रिक माध्यममार्फत मुलुकमा सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको छ,” पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ।

वर्तमान राजनीतिक परिस्थिति र चुनौतीहरूबारे चर्चा गर्दै उहाँले विगतका उपलब्धिहरूसँगै वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राखेर अझ बढी जिम्मेवार र संवेदनशील बन्न आवश्यक रहेको औंल्याउनुभएको छ। अहिलेका चुनौतीहरूको सामना गर्नका लागि सुदृढ सांगठानिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य रहेको उहाँको भनाइ छ।

पूर्वराष्ट्रपति भण्डारीले जनअपेक्षा र सुधारप्रतिको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नुपर्ने र जनताको विश्वास नै राजनीतिक शक्तिको सबैभन्दा ठूलो सामर्थ्य भएको सत्यलाई आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो।

वक्तव्यको अन्त्यमा उहाँले भन्नुभएको छ, “जननेता मदन भण्डारीले देखाउनुभएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ। मदन–आश्रित स्मृति दिवसले हामीलाई लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा प्रदान गरोस्।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button