तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक: सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकियो

काठमाडौँ । राष्ट्रिय सभामा आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिनुभएपछि  सभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको भए पनि अध्यक्ष नारायण प्रसाद दाहालले  १५ मिनेटका लागि स्थगित गर्नुभएको बैठक अझै सुरु हुन सकेको छैन । 

यसअघि बैठकमा  सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरुले  संघ, प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ बनाउन प्रभावकारी व्यवस्था र एमसीसी तथा बीआरआइ जस्ता अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरूले किसान आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आयोजनाको विकासका लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै निमुखा जनताको सुरक्षा सुनिश्चित गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button