तपाईँ सुन्दै हुनुहुन्छः

‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी’ सम्पन्न

काठमाडौँ । जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एक दिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” सम्पन्न भएको छ । गोष्ठीको समापन प्रधान सेनापति अशोक राज सिग्देलले गर्नुभयो ।

सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती, डाटा चुहावट तथा कृत्रिम बौद्धिकता (एआई) बाट उत्पन्न हुनसक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै गोष्ठी आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

गोष्ठीमा साइबर सुरक्षा सम्बन्धी विषय विज्ञहरूले प्रस्तुतीकरण गर्नुका साथै सहभागीहरूबीच विभिन्न सम्भावित सुरक्षा चुनौतीबारे अन्तरक्रिया गरिएको थियो । 

कार्यक्रममा विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधि, नेपाली सेना, अन्य सुरक्षा निकाय तथा साइबर सुरक्षासँग सम्बन्धित सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यस कार्यक्रमले राष्ट्रिय स्तरमा साइबर सुरक्षाका रणनीति तय गर्न, प्रविधिको सुरक्षित प्रयोगबारे साझा अवधारणा विकास गर्न तथा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button