तपाईँ सुन्दै हुनुहुन्छः

ठगी तथा आपराधिक विश्वासघात कसुरमा सिइओ पाण्डे पक्राउ

काठमाडौँ । दूरसञ्चार सम्बन्धी ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । 

काठमाडौँको रक्तकाली घर भई हाल ललितपुर–५ मानभवन बस्ने  ६३ वर्षीय पाण्डेलाई मोबाइल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट मङ्गलबार राति पक्राउ गरिएको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाडौँबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिई सञ्चालन भएको ‘स्मार्ट टेलिकम प्राली’ नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो ।

पाण्डे दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकामा नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी/गराई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसुरमा लोन रिकभरी कमिटीको अध्यक्ष समेतको हैसियतमा उक्त लिलामी प्रक्रियामा संलग्न रहेको प्रहरीले जनाएको छ । 

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क लिले २०८२ असोज ३ गते लिलामीको सूचना निकाल्ने क्रममा बुँदा नं २ मा “लिलाम बिक्री गरिने दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरणलगायत सामग्री जडान भएका घर जग्गा धनीहरूलाई स्मार्टस् सेलले बुझाउनुपर्ने बाँकी घरबाहल र विद्युत् महशुल रकमसमेत रु ४० करोड (उल्लेखित उपकरणका लागि कबुल गरिने रकम)मा थप गरी एकमुष्ठ रकम कबुल गरी बोलपत्र पेस गर्नुपर्ने”, भनी उल्लेख रहेको छ । 

सिआइबीले भनेको छ, “सो बोलपत्र पेस गर्न सूचना प्रकाशित भएकामा सो रकम बैंकले लिई हालसम्म घर धनीलाई घर बहालको साथै विद्युत् महसुलसमेत नदिई÷नतिरी मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा अनुसन्धान भइरहेको छ ।” 

सोही कसुरमा पाण्डेमाथि अनुसन्धान जारी रहेको प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button