तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति रनिङ शिल्ड: खेल मैदानको अभाव झेल्दै डडेल्धुराका खेलाडी 

डडेल्धुरा  । डडेल्धुरामा जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । 

जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा आजदेखि सुरु भएको उक्त प्रतियोगितामा खेल मैदानको अभाव झेल्दै खेलाडीहरू सहभागी भएका छन् । 

जिल्ला स्तरमा खेलमैदानको अभावकामा पनि खेलाडीहरुबीच प्रतियोगिता भइरहे पनि खुलेर खेलाडीहरूले आफ्नो प्रतिभा देखाउन सकिरहेका छैनन् । 

तीन तहका सरकार भए पनि सदरमुकाममा राम्रो खेल मैदान हुन नसक्दा साँघुरो खेल मैदानका बीच खेल खेलाउनुपर्ने बाध्यता रहेको खेलकुद बिकास समिति डडेल्धुराको दाबी छ । 

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले खेलको उद्घाटन गर्नुहुँदै खेलकुदको बिकास र खेल मैदानका लागि पहलकदमी गर्ने बताउनुभयो । 

मन्त्री खड्काले निष्पक्ष रुपमा प्रतियोगिता सञ्चालन गर्न आग्रह गर्नुभयो । 

जिल्ला खेलकुद समितिका अध्यक्ष जगत ऐरको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट बिकास, नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अबस्थी रास्वपाका जिल्ला सभापति सुरेन्द्र अबस्थी लगायतले खेलाडीहरूले आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने थलोका रुपमा लिन सकिने बताउनुभयो । 

जिल्ला सदरमुकाममै एउटा राम्रो खेल मैदान बनाउन नसक्नु कमजोरी रहेको स्वीकार गर्नुहुँदै उहाँहरूले यसका लागि पहलकदमी लिनेगरी अघि बढ्ने प्रतिबद्धता ब्यक्त समेत गर्नुभयो । 

प्रतियोगितामा छात्र छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते लगायतका खेलहरू खेलाइँदैन । प्रतियोगिता बुधबार र बिहीबार चल्नेछ । 

जिल्लास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद समिति डडेल्धुराका प्रमुख डम्बरबहादुर भण्डारीले जानकारी दिनुभयो । 

स्वास्थ्यका लागि खेल राष्ट्रका लागि भन्ने नाराका साथ आयोजना हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका सात वटै स्थानीय तहबाट खेलाडीहरू पुगेका छन् । 

सो अवसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेल मैदानको अभावका कारण प्रतियोगिता सञ्चालन गर्न निकै कठिनाइ हुने गरेको खेलाडीहरूले गुनासो गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button