तपाईँ सुन्दै हुनुहुन्छः

संसदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा नीति तथा कार्यक्रम छलफलका लागि प्रस्तुत 

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभयो ।

सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभएको हो । 

बैठकमा अर्थमन्त्री डा. वाग्लेले प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै अवरोध शुरु गर्नुभयो । 

अवरोधकाबीच सभामुख डोलप्रसाद अर्यालसँग समयमाग गरी नेपाली काँग्रेसको संसदीय  दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको बताउनुभयो ।

नेता आङ्देम्बेले यदि प्रधानमन्त्री शाह बिरामी हुनुहुन्छ भने त्यो जानकारी गराउनुपर्छ नभए नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण छलफलमा प्रधानमन्त्री उपस्थित हुनै पर्ने भन्दै उपस्थितिका लागि रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो ।

बैठकमा सभामुख अर्यालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल गरेर आजै निणयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेपनि त्यो सम्भव नभएको र भोलीका लागि प्रधानमन्त्रीसँग संवाद गरेर अगाडी बढ्ने भन्दै छलफल अगाडी बढाउन सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभयो । 

उहाँले प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ भन्दा पनि संवाद गरेर अवस्था बुझेर आफू सभा सञ्चालनका लागि अगाडी बढ्ने र सरकारका प्रधानमन्त्री उपस्थित हुन नसकेको विषयमा लिखित प्रस्ताव आएको अवस्थामा छलफल अगाडी बढाउन सहयोग गर्न पनि आग्रह गर्नुभयो । 

प्रतिपक्षीहरूको अवरोधकाबीच राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले मन्त्रीले टेबल गरिसकेपछि कुन नियमले प्रधानमन्त्रीविना छलफल अगाडी बढ्न नसक्ने हो त्यो भनिदिनुपर्‍यो भन्दै आफूहरू पुराना धेरै नियम तोडेर अगाडी बढ्न आएको बताउनुभयो ।

नेकपा एमालेका नेता पद्मा अर्यालले नीति तथा कार्यक्रमको प्रमुख जिम्मेवार प्रधानमन्त्री नै हुने र सांसदहरुले उठाएका विषयमा जवाफ दिने जिम्मेवारी पनि प्रधानमन्त्रीको नै भएकाले  प्रधानमन्त्री शाहलाई उपस्थितिका लागि रुलिङ गर्न माग गर्दै रुलिङ भएको अवस्थामा  बैठक चल्न दिने बताउनुभयो ।

सभा सञ्चालनका लागि सहयोग गर्न पटक पटक आग्रह गरेपनि प्रतिपक्षीहरूले अडान नछाडे पनि प्रतिनिधि सभाको दोस्रो बैठक पनि सभामुख अर्यालले १५ मिनेटका लागि स्थगीत गर्नुभयो ।

यसअघि, बैठकमा नेकपा एमालेका सांसद ऐन बहादुर महरले आफ्नो पार्टीको संसदीय दलका नेता रामबहादुर थापाले बोलेका के विषय हटाउन रुलिङ भएको हो स्पष्ट पार्न माग गरेपछि सभामुख अर्यालले अराजकहरूको भिड, राष्ट्रिय झण्डा ओढेर देश जलाउन  र नेपाली सेना मूकदर्शक भन्ने शब्द हटाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button