तपाईँ सुन्दै हुनुहुन्छः

सडक सुधार र सुरक्षामा सरकार प्रतिबद्ध छ: मन्त्री लम्साल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सडक सुरक्षा सुदृढीकरण तथा आधारभूत पूर्वाधार विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले सडक सुरक्षालाई सुदृढ बनाउन सडक मर्मत तथा सुधारका योजनाहरूका लागि पर्याप्त बजेट व्यवस्थापन गरिएको बताउनुभयो ।

मन्त्री लम्सालले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन, ट्राफिक लाइट विस्तार, खोला किनार नजिक पुलहरूको निर्माण, पहिरो नियन्त्रण तथा सडक फराकिलो बनाउने योजनाहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरूले सडक सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, संस्थागत संरचना तथा पर्याप्त बजेट विनियोजनको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि ग्रामीण क्षेत्रका सडक निर्माण, प्रविधिमा आधारित सडक अनुगमन प्रणालीको विकास, सवारीसाधनको गुणस्तर परीक्षण तथा नियमित अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने लगायतका समसामयिक विषयमा ध्यानाकर्षण गराउनुभयो ।

मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सडक सुरक्षा सुदृढीकरण र सडक दुर्घटना न्यूनीकरणका लागि नीतिगत तथा कानुनी सुधारमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

बैठकमा सडक सुरक्षा विज्ञ डा. भगवती सेढाईंले सडक सुरक्षा सुदृढ गर्न संसदमा विचाराधीन रहेको सडक सुरक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने र राष्ट्रिय सडक सुरक्षा कार्ययोजना बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button