धरानमा एक युवाको छुरा प्रहार गरी हत्या
सुनसरी । सुनसरीको धरानमा आज दिउँसो छुरा प्रहारबाट एक युवकको हत्या भएको छ ।
धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन निवासी २७ वर्षीय जीवन भुजेल छुरा प्रहारबाट शक्त घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार दिउँसो करिब १ः४५ बजे स्थानीय युवाबीच भएको आपसी विवादका क्रममा भुजेलमाथि छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आक्रमणबाट भुजेलको दायाँ कुममा गम्भीर चोट लागेको थियो ।
घाइते भुजेललाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम रेफर गरिएको प्रहरीले जनाएको छ । उपचारकै क्रममा दिउँसो करिब ४ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न व्यक्ति धरान–१९ निवासी अन्दाजी २८ वर्षीय अर्जुन विश्वकर्मा रहेको खुलेको छ ।
घटनापछि फरार रहेका विश्वकर्माको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्