टमाटर खेतीबाट वार्षिक २० लाख आम्दानी गर्दै खजुराका वीरेन्द्र
बाँके । बाँकेको खजुरा गाउँपालिका–२ सी गाउँका ५० वर्षीय वीरेन्द्रप्रसाद मुराउले व्यावसायिक टमाटर खेतीमार्फत उल्लेखनीय सफलता हासिल गर्दै कृषिमा अपार सम्भावना रहेको तथ्य पुनः स्थापित गर्नुभएको छ। परम्परागत खेतीलाई व्यावसायिक ढाँचामा रूपान्तरण गर्दै उहाँले गाउँमै आम्दानी र रोजगारी सिर्जनाको नमूना प्रस्तुत गर्नुभएको हो।

गत वर्ष ३ बिघा जमिनमा टमाटर लगाएर २० लाख रुपैयाँ आम्दानी गरेका वीरेन्द्रले यस वर्ष ४ बिघा खेत विस्तार गर्नुभएको छ। करिब ७ लाख रुपैयाँ लगानी गरेका उहाँले हालसम्म सय क्विन्टल भन्दा बढी टमाटर उत्पादन गरी ६ लाख ५० हजार रुपैयाँ आम्दानी गरिसक्नुभएको छ। अझै करिब १००० क्विन्टल उत्पादन हुने उहाँको अपेक्षा छ।

टमाटर खेती गरेर वीरेन्द्रबाट १० देखि १५ जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ। यही व्यवसायबाट उहाँको १० जनाको परिवारको भरणपोषण भइरहेको छ। खाली जमिन र श्रम शक्तिको सही उपयोग गर्न सके बिदेसिनुपर्ने बाध्यता नहुने वीरेन्द्रका बुवा गेनालाल मुराउ र वीरेन्द्रको विश्वास रहेको छ।

वीरेन्द्रप्रसाद मुराउको यो सफलता कृषिमा मेहनत, लगानी र दूरदृष्टि भए सम्भावना असीमित छ भन्ने सन्देश दिने प्रेरणादायी उदाहरण बनेको छ।







प्रतिक्रिया राख्नुहोस्