रौतहटमा बढ्दो लागुऔषध दुर्व्यसन : २६ जनाविरुद्ध मुद्दा दायर
रौतहट । रौतहटमा पछिल्ला समय युवापुस्तामाझ लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएको तथ्य सार्वजनिक भइरहेका बेला जिल्ला प्रहरी कार्यालय रौतहटले चालु आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध कारोबारसम्बन्धी मुद्दामा २६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरीले ६३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार लागुऔषध नियन्त्रण केवल पक्राउ र कारबाहीमा सीमित राखेर समस्या समाधान नहुने देखिएपछि जिल्लामा “लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान” शुक्रबारदेखि सुरु गरिएको हो ।
प्रहरीको तथ्याङ्कले रौतहटमा सीमावर्ती क्षेत्र हुँदै लागुऔषध ओसारपसार तथा युवाहरूमा यसको प्रयोग बढ्दै गएको सङ्केत गरेको छ । विशेष गरी बेरोजगारी, कमजोर पारिवारिक निगरानी, सीमापार सहज आवतजावत र साथीहरूको प्रभावका कारण किशोर तथा युवा वर्ग लागुऔषधको दुर्व्यसनतर्फ आकर्षित भइरहेको प्रहरी अधिकारीहरूको भनाइ छ ।
प्रहरी उपरीक्षक रिजालले लागुऔषध दुर्व्यसनलाई केवल कानुनी विषयका रूपमा नभई सामाजिक, पारिवारिक र स्वास्थ्यसँग गाँसिएको जटिल समस्याका रूपमा बुझ्नुपर्ने बताउनुभयो । “पक्राउ गरेर मात्रै समस्या समाधान हुँदैन, खोज, उपचार र सुधारलाई सँगसँगै अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो ।
अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा पुगेर लागुऔषध सेवनकर्ताको पहिचान, तथ्याङ्क सङ्कलन, परामर्श सेवा, सचेतनामूलक कार्यक्रम तथा आवश्यक परे उपचार र पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पहिचान भएका व्यक्तिलाई अपराधीको दृष्टिले नभई सुधार आवश्यक व्यक्तिका रुपमा हेरेर पुनः समाजमा स्थापित गर्ने रणनीति बनाइएको छ । यसका लागि अभिभावक, शिक्षक, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थासँग सहकार्य गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्