तपाईँ सुन्दै हुनुहुन्छः

कन्याममा चिया परीक्षण ल्याब सञ्चालनको तयारी

 इलाम I इलामको सूर्योदय नगरपालिका  कन्यामको  चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनमा आउने भएको छ । 

सूर्योदय नगरपालिका–७, कन्याममा  चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र  नेपालमै पहिलो पटक निर्माण भएको हो । केन्द्र सञ्चालनका लागि  कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश , कोशी प्रदेश योजना आयोग, उद्योग,  र सूर्योदय नगरपालिकाबिच  सहमति  भएको छ । यो सहमति भए  सँगै अब केन्द्र सञ्चालनमा आउने भएको नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले जानकारी दिनुभएको छ। 

१८ करोड बढी लगानीमा निर्माण  भएको केन्द्रमा कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्योदय नगरपालिकाको २५  प्रतिशत  लागत छ ।  

प्राविधिक जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकिरहेको  केन्द्रको सञ्चालनका लागि कोशी प्रदेश सरकारका कृषिमन्त्री इस्ताइल मन्सुर, कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, लगायतका अधिकारीहरूको सहभागितामा सहमति भएको हो ।

प्रदेश सरकार उद्योग, कृषि तथा सहकारीमन्त्री मन्सुरी, प्रदेश योजना आयोगका उपाध्यक्ष निरौला, प्रदेश सचिव विष्णुप्रसाद कोइराला, लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी अधिकृत सरोज कोइराला, उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकीय अधिकृत कोइरालासहितको प्रतिनिधि मण्डलबिच प्रदेश योजना आयोगमा यसको सञ्चालन बारे योजना बनाइएको सूर्योदय नगरपालिकाले जनाएको छ । 

कार्यवाहक नगर प्रमुख  बरालले मन्त्रालयले प्राविधिक जनशक्ति उपलब्ध गराएपछि  ल्याबसहितको केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो । 

 २०७६ फाल्गुणमा  प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सूर्योदय नगरपालिकाबिच भएको सम्झौता अनुसार उक्त केन्द्रको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालन कार्यविधि, २०८० ले तोके बमोजिम सञ्चालन हुने  छ । केन्द्रको भवनको भुईँ तल्लामा रहेको चिया परीक्षण ल्याबबाट प्रवाह हुने सेवालाई परिणाममुखी बनाउन यसअघि सूर्योदय नगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) बिच सम्झौता भएको थियो ।

सोही अनुसार कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक पर्ने दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउने व्यवस्था मिलाउने साथै उक्त केन्द्रको व्यवस्थित सञ्चालनका लागि अन्य सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्ने सहमति भएको  प्रमुख प्रशासकीय अधिकृत विज्ञान राज कोइरालाले जानकारी दिनुभयो । 

केन्द्र सञ्चालनमा नआउँदा लगानी खेर गएको भन्दै आलोचना  भए पछि नगरपालिकाले २०८३ वैशाख १४ गते प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयलाई पत्र लेख्दै आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी केन्द्र सञ्चालनको पहल गर्न माग गरेको थियो । 

निर्माण सम्पन्न भएर पनि उपकरण र प्राविधिक जनशक्तिको अभावमा केन्द्रमा रहेको चिया परीक्षण ल्याब सञ्चालनमा आउन सकेको थिएन । केन्द्र सञ्चालनमा नआउँदा भएका उपकरण समेत जीर्ण बन्ने अवस्थामा आएका थिए । 

नगरपालिकाले स्वीकृत गरेको सूर्योदय नगरपालिकाको चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालन कार्यविधि, २०८० बमोजिम चिया परीक्षण तथा प्रवर्धन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्न  बोलपत्र आह्वान भई  सोही कार्यविधि अनुसार  २०८२ चैत्र १५ गते ठेक्का समेत सम्झौता भइसकेको छ । 

कार्यबहाक नगर प्रमुख बरालले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार संरचना निर्माण भएको र उक्त संरचना अन्तर्गत हाल चिया परीक्षणको कार्य बाहेक क्याफे, सेमिनार हल, अतिथि गृह, प्रशासनिक लगायतका कक्षको एकमुष्ट सञ्चालनका लागि भाडामा लगाइएको जानकारी दिनुभयो ।नेपालको चियाको ८० प्रतिशत हाराहारी बजार भारत भएका कारण चिया निकासी गर्दा परीक्षणका कारण बर्सेनि चिया उद्योगी र व्यवसायीले झन्झट बेहोर्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button