भारतबाट खैरो हेरोइन बेच्न नेपालगञ्ज आएका युवा-युवती पक्राउ
नेपालगञ्ज । भारतबाट लागुऔषध बेच्न बाँकेको नेपालगञ्ज आएका दुई भारतीय युवा(युवती एकै पटक ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले आज बिहान साढे १० बजे भारतको बहराइच जिल्लास्थित रुपैडिया थानाको बाबागञ्ज बस्ने ३२ वर्षीय मोहम्मद हामिद र सोही स्थानकी २२ वर्षीया सविना देवी पथरकटलाई ६८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको लागुऔषध र बाँके प्रहरीको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–५ फुल्टेक्रा जाने बाटोमा उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । त्यसपछि कानुन बमोजिम शरीर तलासी गर्दा मोहम्मद हामिदले लगाएको कालो पाइन्टको दाहिने खल्तीभित्र लुकाई राखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनीहरूका साथबाट ६८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनका साथै घटनास्थलबाट दुई थान मोबाइल फोन र भारतीय नम्बर प्लेट युपी ४० बीएच ४७०८ को मोटरसाइकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको प्रहरीले जनाएको छ भने उनीहरूसँग अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
प्रहरीका अनुसार उनीहरू लागुऔषध कारोबार गर्ने भारतकै ठूलो गिरोह रहेको बुझिएको छ ।








प्रतिक्रिया राख्नुहोस्